न्युयोर्क । भारतले संयुक्त राष्ट्र सुरक्षा परिषद् (युएनएससी) को वर्तमान संरचनाले बदलिँदो विश्वको राजनीतिक तथा भूराजनीतिक वास्तविकता प्रतिबिम्बित गर्न नसकेको भन्दै तत्काल सुधारको माग गरेको छ।
सुरक्षा परिषद्को कार्यविधिसम्बन्धी खुला बहसलाई बुधबार सम्बोधन गर्दै संयुक्त राष्ट्रसङ्घका लागि भारतको स्थायी नियोगकी कार्यवाहक राजदूत योजना पटेलले सन् १९४५ यता विश्वमा ठूलो परिवर्तन आएको बताइन्। उनका अनुसार ८० वर्षअघि बनेको संरचनाले अहिलेको विश्व शक्ति सन्तुलन र आवश्यकतालाई पर्याप्त रूपमा प्रतिनिधित्व गर्न सकेको छैन।
पटेलले सुरक्षा परिषद्का स्थायी र गैरस्थायी दुवै सदस्यतामा विकासोन्मुख देश तथा ग्लोबल साउथको प्रतिनिधित्व बढाउनुपर्ने भारतको धारणा दोहोर्याइन्। सुधारका लागि स्पष्ट लक्ष्य, माइलस्टोन र समयसीमासहित पाठमा आधारित वार्ता अघि बढाउनुपर्ने उनले बताइन्।
उनले सदस्यता विस्तार, क्षेत्रीय प्रतिनिधित्व र भिटो अधिकारजस्ता विषयलाई सुरक्षा परिषद्को कार्यविधि सुधारबाट अलग राख्न नहुने बताइन्। परिषद्का प्रक्रियागत नियम अस्थायी प्रकृतिका भएकाले आवश्यकताअनुसार संशोधन गर्न सकिने उनको भनाइ थियो।
भारतले परिषद्मा पारदर्शिता बढाउन सबै सदस्यलाई कागजात तथा सूचनामा समान पहुँच दिनुपर्ने माग गरेको छ। शान्तिसुरक्षा अभियानमा सेना तथा प्रहरी पठाउने देशलाई पनि जनादेश र स्रोतसम्बन्धी प्रमुख निर्णय प्रक्रियामा सहभागी गराउनुपर्ने भारतको धारणा छ।
पटेलले सुरक्षा परिषद्का सहायक निकायका अध्यक्ष चयनमा हुने ढिलाइ अन्त्य गर्न निश्चित समयसीमा तोक्न तथा परिषद् र संयुक्त राष्ट्र महासभाबीच समन्वय बलियो बनाउन पनि आग्रह गरिन्।











