जापानिज इन्सेफ्लाइटिसका कारण सप्तरी र कैलालीमा चार जनाको मृत्यु भएको छ। सप्तरीमा दुई तथा कैलालीको घोडाघोडी नगरपालिकामा दुई जनाको उपचारका क्रममा मृत्यु भएको सम्बन्धित स्वास्थ्य कार्यालयले जनाएको छ।
सप्तरी जिल्ला स्वास्थ्य कार्यालयका स्वास्थ्य अधिकृत शतिश यादवका अनुसार तिलाठी कोइलाडी गाउँपालिका–१ का ७४ वर्षीय सत्यनारायण यादव र राजगढ गाउँपालिका–३ का १४ वर्षीय शिवकुमार रामको मृत्यु भएको हो। दुवै जनाको गत साउन २१ गते उपचारका क्रममा मृत्यु भएको थियो। यादवको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र रामको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको थियो।
कैलालीको घोडाघोडी नगरपालिकामा पनि जापानिज इन्सेफ्लाइटिसबाट ३४ र ७० वर्षीया दुई महिलाको मृत्यु भएको छ। उनीहरू घोडाघोडी–४ र ९ का बासिन्दा हुन्।नगरपालिकाका सिनियर अहेब मानबहादुर बोहराका अनुसार पछिल्ला तीन वर्षयता घोडाघोडीमा जापानिज इन्सेफ्लाइटिसका बिरामी देखिन थालेका छन्। सङ्क्रमण देखिएपछि नगरपालिकाले आकस्मिक बैठक गरी रोकथामका उपायबारे छलफल गरेको छ।
जापानिज इन्सेफ्लाइटिस क्युलेक्स जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। स्वास्थ्यकर्मीले साँझपख लामखुट्टेको टोकाइबाट बच्न, झुल प्रयोग गर्न, लामो बाहुला भएका कपडा लगाउन र घरवरिपरि पानी जम्न नदिन आग्रह गरेका छन्।
अत्यधिक ज्वरो आउने, बेहोस हुनेलगायत लक्षण देखिए तत्काल स्वास्थ्य संस्थामा लैजान स्वास्थ्यकर्मीले सुझाव दिएका छन्।











