५ भाद्र २०८३, शुक्रबार
Follow us :

कर्णालीमा पौडी खेल्दा दुई बालबालिका बेपत्ता, गाउँ शोकमा

कर्णालीको तीव्र बहावले दुई बालबालिका बगाएपछि हुम्लाको तल्लोलाली गाउँ शोकमा डुबेको छ।

कान्तिपुर प्रेस

हुम्ला । हुम्लाको खार्पुनाथ गाउँपालिका–१ सुनाखाडामा कर्णाली नदीमा पौडी खेल्ने क्रममा दुई बालबालिका बेपत्ता भएका छन्। नदीको तीव्र बहावले बगाएपछि उनीहरूको खोजी भइरहेको छ।बिहीबार बेलुका नदी किनारमा पौडी खेल्न गएका खार्पुनाथ–१ तल्लोलालीका दुई बालबालिकालाई कर्णाली नदीले बगाएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ।

बेपत्ता हुनेमा बृषबहादुर शाहीकी ११ वर्षीया छोरी अनु शाही र रामचन्द्र रावलका १२ वर्षीय छोरा प्रशान्त रावल रहेका छन्। दुवै जना मालिका माध्यमिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत थिए।खार्पुनाथ गाउँपालिका–१ का वडाध्यक्ष जयबहादुर शाहीका अनुसार नदी किनारमा खेल्ने क्रममा उनीहरू नदीको बहावमा परेका हुन्। कर्णाली प्रदेश स्थापना दिवसको सार्वजनिक बिदा परेकाले उनीहरू सुनाखाडा पुगेका थिए।

घटनालगत्तै स्थानीयवासी र प्रहरीको टोलीले नदी किनार तथा आसपासका क्षेत्रमा खोजी अभियान थाले पनि कर्णाली नदीमा पानीको बहाव तीव्र रहेकाले खोजी कार्यमा कठिनाइ भइरहेको प्रहरीले जनाएको छ। एकैपटक गाउँका दुई बालबालिका बेपत्ता भएपछि तल्लोलाली गाउँ शोकमा डुबेको छ। बेपत्ता बालबालिकाको खोजी कार्य शुक्रबार बिहानदेखि थप सक्रिय रूपमा अघि बढाइने जनाइएको छ।

५ भाद्र २०८३, शुक्रबार ०७:१९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०