६ भाद्र २०८३, शनिबार
Follow us :

मकवानपुरमा गाईमा रेबिज पुष्टि, गाउँपालिकामा उच्च सतर्कता

प्रारम्भिक परीक्षणपछि काठमाडौं पठाइएको नमुना

कान्तिपुर प्रेस

हेटौँडा । मकवानपुरको बकैया गाउँपालिका–९, शिखरपुरस्थित एक किसानको गाईमा रेबिज रोग पुष्टि भएपछि गाउँपालिकाले उच्च सतर्कता अपनाएको छ। रोग मानिसमा समेत सर्न सक्ने भएकाले पशुको सम्पर्कमा आएका व्यक्तिलाई खोप लगाउनेदेखि गोठलाई सङ्क्रमणमुक्त बनाउने र आसपासका पशुमा खोप अभियान सञ्चालन गर्ने काम तीव्र पारिएको छ।

स्थानीय कृषक प्रकाश नेपालको गाईमा रेबिज पुष्टि भएपछि बकैया गाउँपालिकाको पशुपन्छी शाखाले रोग नियन्त्रण, निगरानी, सरसफाइ तथा जनचेतनामूलक गतिविधि अघि बढाएको हो।

पशुपन्छी शाखाका पशु सेवा प्राविधिक अमिन अन्सारीका अनुसार रेबिज जुनोटिक रोग भएकाले पशुबाट मानिसमा समेत सर्न सक्छ। त्यसैले समयमै सावधानी अपनाउनु र जोखिममा परेका व्यक्ति तथा पशुलाई आवश्यक खोप लगाउनु महत्वपूर्ण रहेको उनले बताए।

प्रारम्भिक परीक्षणपछि काठमाडौं पठाइएको नमुना

शिखरपुर क्षेत्रमा उपचारका क्रममा एक गाईमा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएको र पछि गाई मरेको जानकारी आएपछि पशुपन्छी शाखाको प्राविधिक टोली घटनास्थल पुगेको थियो।

डा. अविनाश ठाकुर, पशु प्राविधिक अमिन अन्सारी, अजय बर्तौला तथा हेटौँडाबाट मोहित साहसहितको टोलीले घटनास्थलमा निरीक्षण र प्रारम्भिक परीक्षण गरेको थियो।

रेबिज द्रुत परीक्षण किटमार्फत गरिएको परीक्षणमा नमुना प्रारम्भिक रूपमा पोजेटिभ देखिएपछि रोगको यकिन गर्न नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, काठमाडौं पठाइएको थियो। थप परीक्षणबाट गाईमा रेबिज भएको पुष्टि भएको पशु सेवा प्राविधिक अन्सारीले जानकारी दिए।

परिवारका सदस्यलाई खोप लगाइयो

रेबिज पुष्टि भएपछि गाईधनी किसान र परिवारका सदस्यलाई रेबिजविरुद्धको खोप लगाउन सुरु गरिएको छ। अन्सारीका अनुसार पहिलो मात्रा बकैयास्थित आधारभूत अस्पतालमा लगाइसकिएको छ भने थप मात्रा लगाउने प्रक्रिया बाँकी छ।

रेबिजका कारण मरेको गाई रहेको गोठका अन्य गाईबस्तुलाई पनि रेबिजविरुद्ध खोप लगाउने तयारी गरिएको छ। गोठ र आसपासको क्षेत्रमा सरसफाइ गरी सङ्क्रमणमुक्त बनाउने कामसमेत गरिएको जनाइएको छ।

शङ्कास्पद पशुसँग सम्पर्क नगर्न आग्रह

पशुपन्छी शाखाका पशु चिकित्सक डा. अविनाश ठाकुरले रेबिज पुष्टि भएको गाईको सम्पर्कमा आएका वा लसपस भएका व्यक्तिले स्वास्थ्यकर्मीको सल्लाहअनुसार रेबिजविरुद्धको खोप लगाएर सुरक्षित हुनुपर्ने बताए।

उनले शङ्कास्पद व्यवहार देखाउने पशुसँग प्रत्यक्ष सम्पर्क नगर्न, अनावश्यक रूपमा नछुन र जोखिममा रहेका पशुलाई समयमै खोप लगाउन आग्रह गरेका छन्।

गाईधनीले उक्त गाई पाँच–छ महिनाअघि मात्र किनेर ल्याएको बताइएको छ। गाईमा कहाँबाट र कसरी रेबिज सङ्क्रमण भयो भन्ने यकिन हुन नसके पनि खुला ठाउँमा पालन गरिएकाले स्याल वा अन्य सङ्क्रमित जनावरको टोकाइबाट रोग सरेको हुन सक्ने आशङ्का गरिएको छ।

पालिकाभित्रको अर्को एक वडामा समेत पशुमा रेबिजसँग मिल्दोजुल्दो लक्षण देखिएको जानकारीपछि स्थानीय तहले थप सतर्कता अपनाउन आग्रह गरेको छ।

पशुपन्छी शाखाले चालु वर्ष जुनोटिक रोग नियन्त्रण तथा जनचेतनाका लागि विशेष अभियान सञ्चालन गर्ने तयारीसमेत गरेको जनाएको छ। जुनोटिक रोग पशुपन्छी, जनावर वा कीराबाट मानिसमा सर्न सक्ने रोग हो, जसको संक्रमण ब्याक्टेरिया, भाइरस, परजीवी वा ढुसीका कारण हुन सक्छ।

६ भाद्र २०८३, शनिबार १९:०० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०