७ भाद्र २०८३, आईतवार
Follow us :

सल्यानमा स्क्रबटाइफसको त्रास, एक जनाको मृत्यु, २५ भन्दा बढी संक्रमित

पछिल्लो एक सातायता संक्रमण फैलिएसँगै एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ।

कान्तिपुर प्रेस

सल्यानको दार्मा गाउँपालिकामा स्क्रबटाइफस तथा ज्वरोका बिरामीको संख्या बढ्दै गएको छ। पछिल्लो एक सातायता संक्रमण फैलिएसँगै एक जनाको मृत्यु भएको छ भने २५ जनाभन्दा बढीमा स्क्रबटाइफस संक्रमण पुष्टि भएको छ।

दार्मा गाउँपालिका–५ निवासी ६९ वर्षीय तुलबहादुर खड्काको स्क्रबटाइफस संक्रमणका कारण मृत्यु भएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ। ज्वरो आएपछि गरिएको परीक्षणमा उहाँमा स्क्रबटाइफस पुष्टि भएको थियो।

स्वास्थ्य शाखा प्रमुख यज्ञबहादुर बस्नेतका अनुसार खड्कामा मधुमेहको समस्या हुनुका साथै फोक्सोमा पानी जमेको देखिएपछि थप उपचारका लागि रिफर गरिएको थियो। उपचारका लागि नेपालगन्ज लगिएपछि घर फर्कने क्रममा बाटोमै उहाँको मृत्यु भएको बताइएको छ।

विशेषगरी दार्मा गाउँपालिका–३ मा संक्रमण बढी देखिएको छ। ज्वरो आएका बिरामीको परीक्षण गर्दा २५ जनाभन्दा बढीमा स्क्रबटाइफस पुष्टि भएको स्वास्थ्य शाखाले जनाएको छ। परीक्षण गरिएका बिरामीमध्ये दैनिक चारदेखि पाँच जनासम्ममा संक्रमण देखिन थालेपछि स्वास्थ्यकर्मीहरू थप चिन्तित बनेका छन्।

संक्रमण नियन्त्रण, परीक्षण र उपचार व्यवस्थापनका लागि प्रदेश तथा संघीय सरकारसँग सहयोग माग्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ। गत वर्ष पनि दार्मामा स्क्रबटाइफस व्यापक रूपमा फैलिएको थियो। त्यतिबेला पाँच सयभन्दा बढी संक्रमित भएका थिए भने चार जनाको मृत्यु भएको थियो।

स्वास्थ्यकर्मीहरूले ज्वरो, टाउको दुख्ने तथा शरीर दुख्ने जस्ता लक्षण देखिएमा ढिलाइ नगरी स्वास्थ्य संस्थामा परीक्षण गराउन आग्रह गरेका छन्। झाडी, घाँस तथा वनजंगलमा जाँदा शरीर ढाकिने कपडा र बुट प्रयोग गर्न तथा घर वरपरको झाडी नियमित सफा राख्न पनि सुझाव दिइएको छ।

७ भाद्र २०८३, आईतवार ०८:१५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०