काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ भने मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
हाल देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली रहेको छ भने अन्य तराई क्षेत्रमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
महाशाखाका अनुसार बुधबार दिउँसो देशभर सामान्यतया बदली रहनेछ। विभिन्न प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा उच्च हिमाली क्षेत्रमा वर्षासँगै हिमपातको सम्भावना रहेको छ।
कोशी र बागमती प्रदेशका हिमाली तथा पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ। गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भूभागका केही स्थानमा पनि भारी वर्षाको सम्भावना छ।
रातिको समयमा पनि देशभर बदली रही कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा तथा अन्य प्रदेशका विभिन्न स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुने सम्भावना रहेको छ। कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका केही पहाडी र तराई क्षेत्रमा भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो, गेग्रान बहाव र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ। वर्षाले सडक तथा हवाई यातायात, कृषि, पर्यटन र दैनिक जनजीवनमा समेत असर पार्न सक्ने भएकाले मौसमसम्बन्धी अद्यावधिक सूचना हेर्न महाशाखाले आग्रह गरेको छ।











