१० भाद्र २०८३, बुधबार
Follow us :

रसुवाका बाढी पिडितलाई सक्दो सहयोग गर्ने गोदावरी नगरपालिकाको घोषणा

कान्तिपुर प्रेस

ललितपुर। गोदावरी नगरपालिका, ललितपुरले रसुवाको भोटेकोशी नदीमा आएको आकस्मिक तथा विनाशकारी बाढीबाट भएको मानवीय र भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै प्रभावित नागरिकको उद्धार, राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।

नगरपालिकाले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै रसुवाको टिमुरे, स्याफ्रुबेंसी, रसुवागढीलगायत क्षेत्रमा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेको हो। बाढीका कारण निजी तथा सार्वजनिक सम्पत्ति, सडक, पुल, विद्युत्, सञ्चार, बजार तथा अन्य भौतिक संरचनामा समेत क्षति पुगेको नगरपालिकाले जनाएको छ।

नगर प्रमुख गजेन्द्र महर्जनद्वारा जारी विज्ञप्तिमा बाढीमा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरिएको छ। घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामनासमेत गरिएको छ।

विपद् कोषबाट आवश्यक सहयोग गर्ने तयारी

नगरपालिकाले हाल प्रभावित नागरिकको जीवनरक्षा, तत्काल राहत तथा अत्यावश्यक मानवीय सहायता पहिलो प्राथमिकता रहेको जनाएको छ। उद्धार तथा राहतका लागि नेपाल सरकार, स्थानीय प्रशासन, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र जनप्रतिनिधि परिचालन भइसकेको अवस्थामा सम्बन्धित स्थानीय तह तथा सरोकारवाला निकायसँग समन्वय गर्ने प्रतिबद्धता नगरपालिकाले जनाएको छ।

गोदावरी नगरपालिकाले रसुवासँगै नुवाकोट र धादिङलगायत बाढी प्रभावित क्षेत्रका नागरिकलाई समेत आवश्यक सहयोग गर्ने जनाएको छ। नगरपालिकाको विपद् व्यवस्थापन कोष तथा उपलब्ध स्रोतसाधनबाट प्रचलित कानुन र कार्यविधिअनुसार आवश्यक निर्णय र समन्वय गरी सहयोग उपलब्ध गराइने विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाले भोटेकोशी तथा यससँग जोडिएका नदी–खोलाका तटीय क्षेत्रमा अझै जोखिम रहन सक्ने भन्दै स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन र सम्बन्धित निकायबाट जारी सूचना तथा पूर्वसूचनाको पालना गर्न आग्रह गरेको छ।

 

१० भाद्र २०८३, बुधबार २३:०६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०