१२ भाद्र २०८३, शुक्रबार
Follow us :

निजी क्षेत्र बाढीपीडितको राहतमा जुट्यो

कान्तिपुर प्रेस

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलगायतका क्षेत्रमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि निजी क्षेत्रका छाता सङ्गठन सक्रिय भएका छन्। नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घले राहत सङ्कलन तथा वितरण अभियान अघि बढाएका हुन्।

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष अञ्जन श्रेष्ठले प्रभावित नागरिकको उद्धार तथा राहतमा जुट्न देशभरका उद्योगी व्यवसायीलाई आह्वान गर्नुभएको छ। खाद्यान्न, पिउने पानी, औषधी, लत्ताकपडा तथा अन्य अत्यावश्यक सामग्री सुरक्षित रूपमा प्रभावित परिवारसम्म पुर्‍याउन निजी क्षेत्रको सामथ्र्य परिचालन गर्न उहाँले आग्रह गर्नुभएको छ।

महासङ्घले विपद्का बेला अत्यावश्यक वस्तु तथा सेवाको आपूर्ति सहज, नियमित र निर्बाध बनाउन तथा यथोचित र स्थिर मूल्य कायम राख्नसमेत अपिल गरेको जनाएको छ।

नेपाल चेम्बर अफ कमर्सले उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन ५० केजी पेलोड क्षमताको ड्रोन र एउटा सर्भिलेन्स ड्रोन विदुर नगरपालिकामा पठाइसकेको जनाएको छ। थप एक सय केजी पेलोड क्षमताको ड्रोन पठाउने तयारी भइरहेको छ। प्रभावित क्षेत्रमा १२५ वटा पावर बैंकसमेत उपलब्ध गराइएको चेम्बरले जनाएको छ।

चेम्बरले रसुवा, नुवाकोट र धादिङमा सम्बन्धित जिल्ला चेम्बरमार्फत नगद तथा जिन्सी सहयोग उपलब्ध गराएको जनाएको छ। आवश्यकता अनुसार थप राहत सहयोग जारी राख्ने चेम्बरको भनाइ छ।चेम्बरले आफ्ना मातहतका जिल्ला तथा नगर चेम्बर, नेपाल महिला चेम्बर, नेपाल युथ चेम्बर, विपद् व्यवस्थापन परिषद् तथा अन्य वस्तुगत सङ्घलाई उद्धार, राहत र व्यवस्थापनमा सक्रिय हुन आग्रह गरेको छ।

यसैबिच, नेपाल उद्योग परिसङ्घले पनि बाढीपीडितका लागि राहत सामग्री सङ्कलन तथा हस्तान्तरणको काम अघि बढाएको जनाएको छ। प्रभावित नागरिकलाई तत्काल राहत उपलब्ध गराउनुका साथै पुनःस्थापना र पुनर्निर्माणमा सहयोग गर्न सदस्य संस्था, उद्यमी व्यवसायी तथा व्यावसायिक सङ्घसंस्थालाई परिसङ्घले अपिल गरेको छ।

१२ भाद्र २०८३, शुक्रबार ०७:४४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०