चीनको छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रनजिक बनेको ठूलो ताल फुटेपछि आएको बाढी रसुवाको स्याफ्रुबेसी पुगेको छ। बाढी पूर्वानुमान महाशाखाका अनुसार शुक्रबार दिउँसो १२ बजेर ३१ मिनेटमा भोटेकोशी नदीको बाढी स्याफ्रुबेसी पुगेको हो।
ताल फुटेपछि नदीमा पानीको बहाव बढेकाले भोटेकोशी हुँदै त्रिशूली नदीको तटीय क्षेत्रमा जोखिम बढेको छ। महाशाखाले त्रिशूली नदीको तटीय क्षेत्र, विशेषगरी मुग्लिनसम्मका नदी किनार आसपासका बासिन्दालाई अर्को सूचना जारी नभएसम्म उच्च सतर्कता अपनाउँदै सुरक्षित स्थानमा रहन आग्रह गरेको छ।
बाढी स्याफ्रुबेसी पुगेपछि तल्लो तटीय क्षेत्रमा समेत बहाव बढ्न सक्ने भएकाले नदी किनार, बगर तथा जोखिमयुक्त क्षेत्रमा नजान आग्रह गरिएको छ। स्थानीय प्रशासन तथा सुरक्षा निकायले जारी गर्ने सूचना पालना गर्नसमेत अनुरोध गरिएको छ।
चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम क्षेत्रमा ठूलो ताल बनेको सूचना यसअघि नै सार्वजनिक भएको थियो। उक्त क्षेत्र भोटेकोशीको माथिल्लो जलाधारसँग सम्बन्धित रहेको बताइएको छ।
यसअघि भोटेकोशीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति गरिसकेको छ। पछिल्लो बाढीको जोखिमलाई मध्यनजर गर्दै नदी आसपासका क्षेत्रमा उद्धार तथा सुरक्षा संयन्त्रलाई उच्च सतर्क अवस्थामा राखिएको छ।











