काठमाडौँ। रसुवामा आएको बाढीबाट प्रभावित नागरिकको उद्धारका क्रममा नेपाली सेनाले भदौ १४ गते बिहान ७ बजेसम्म २ हजार ६९७ जनाको उद्धार गरेको छ।
नेपाली सेनाका अनुसार टिमुरे, स्याफ्रुबेँसी, धुन्चे तथा मैलुङ क्षेत्रबाट सेनाका हवाई साधनमार्फत विदेशी नागरिक २१६ जनासहित २ हजार ४९७ जनाको हवाई उद्धार गरिएको हो।
उद्धार गरिएका विदेशी नागरिकमा १२१ भारतीय, ४ जर्मन, ७२ चिनियाँ, २ अमेरिकी, २ इटालियन, १ ओमानी र १५ कोरियाली नागरिक रहेका छन्।
सेनाले स्थलमार्गबाट थप २०० जनाको उद्धार गरेको जनाएको छ। हवाई र स्थलमार्गबाट गरिएको उद्धारसमेत गरी हालसम्म २ हजार ६९७ जनालाई सुरक्षित स्थानमा सारिएको हो।
बाढी प्रभावित जिल्लामा नेपाली सेनाका ८ हजार ३०० भन्दा बढी सैनिक परिचालन भएका छन्। उनीहरू विभिन्न सरकारी तथा सुरक्षा निकायसँग समन्वय गरी उद्धार तथा राहत कार्यमा जुटिरहेका छन्।
यसैबीच, सेनाले विभिन्न उपकरणको प्रयोग गरी जलविद्युत् आयोजनाका सुरुङका प्रवेशद्वार पत्ता लगाउने कार्यसमेत जारी राखेको छ। त्रिशूली हाइड्रोपावरको ‘घब्’ टनेलको प्रवेशद्वार पत्ता लगाउन रातभर प्रयास गरिएको थियो।
तर राति २ बजेपछि ठूलो वर्षा भएपछि खोलाको सतह बढ्नुका साथै खाल्डोमा पानी भरिएपछि उक्त खोजी कार्य केही समयका लागि रोकिएको नेपाली सेनाले जनाएको छ।











