बेइजिङ । तिब्बतमा आएको भीषण बाढीमा परी ५४६ जना बेपत्ता भएका छन्। चिनियाँ सरकारी टेलिभिजन (CCTV) का अनुसार बेपत्ता हुनेमध्ये २३ देशका २६१ जना विदेशी नागरिक रहेका छन्।
बेपत्ता विदेशी नागरिकमध्ये सबैभन्दा धेरै नेपाली छन्। चिनियाँ अधिकारीका अनुसार १०४ जना नेपाली नागरिक अझै सम्पर्कविहीन छन्। बाढीका कारण तिब्बतसहित नेपालसँग जोडिएका सीमावर्ती क्षेत्रमा ठूलो धनजनको क्षति भएको बताइएको छ।
चिनियाँ सञ्चारमाध्यमका अनुसार भारतका ४९, लाटभियाका ३३, अमेरिकाका १८ र बेलायतका १५ जना बेपत्ता छन्। क्यानडा र अस्ट्रेलियाका ६–६ जना तथा दक्षिण अफ्रिकाका चार जना रहेका छन्।
यस्तै, मलेसिया, जर्मनी र रुसका तीन–तीन जना तथा फ्रान्स, न्युजिल्यान्ड, इस्टोनिया र आयरल्यान्डका दुई–दुई जना बेपत्ता रहेको विवरण सार्वजनिक गरिएको छ। फिनल्यान्ड, नेदरल्यान्ड, लिथुआनिया, पोर्चुगल, युक्रेन, स्पेन र हंगेरीका एक–एक जना नागरिक पनि बेपत्ता छन्।
चिनियाँ अधिकारीहरूले बेपत्ता विदेशी नागरिकका सम्बन्धित दूतावास तथा कन्सुलर सेवाहरूलाई घटनाबारे औपचारिक जानकारी गराइसकेको जनाइएको छ।
CCTV का अनुसार बेपत्तासम्बन्धी विवरण परराष्ट्र, सार्वजनिक सुरक्षा, संस्कृति तथा पर्यटन र आपत्कालीन व्यवस्थापनलगायत विभिन्न निकायको अनुसन्धान तथा समन्वयपछि तयार गरिएको हो।
बाढीबाट प्रभावित क्षेत्रमा बेपत्ता नागरिकको खोजी तथा उद्धार कार्य जारी रहेको चिनियाँ पक्षले जनाएको छ। बाढीले तिब्बत र नेपालका सीमावर्ती क्षेत्रमा सडक, बस्ती तथा अन्य भौतिक संरचनामा समेत क्षति पुर्याएको विवरण सार्वजनिक भएका छन्।
यस घटनासँगै सीमावर्ती क्षेत्रमा रहेका नेपाली नागरिकको अवस्थाबारे चासो बढेको छ। बेपत्ता १०४ नेपालीको खोजी तथा उनीहरूको अवस्थाबारे थप विवरण आउन बाँकी छ।











