७ आश्विन २०८३, बुधबार
Follow us :

रसुवा बाढीमा सप्तरीका ४९ र दुई भारतीय बेपत्ता

एक जनाको मृत्यु, १८ जनाको उद्धार

कान्तिपुर प्रेस

सप्तरी — रसुवामा आएको विनाशकारी बाढीमा सप्तरीका ४९ जना र दुई भारतीय नागरिकसहित ५१ जना सम्पर्कविहीन भएका छन्। बाढीमा सप्तरीका एक जनाको मृत्यु भएको छ भने १८ जनाको उद्धार गरिएको र नौ जना सम्पर्कमा आएको जिल्ला प्रशासन कार्यालय सप्तरीले जनाएको छ।

मृत्यु हुनेमा खडक नगरपालिका–५ रञ्जितपुरका सन्तोष चौधरी रहेको सहायक प्रमुख जिल्ला अधिकारी नरेशकुमार यादवले जानकारी दिनुभयो। उहाँ नुवाकोटस्थित जलविद्युत् आयोजनामा कामदारका रूपमा कार्यरत हुनुहुन्थ्यो।

जिल्ला प्रशासन कार्यालयका अनुसार रसुवास्थित विभिन्न जलविद्युत् आयोजना तथा निर्माण क्षेत्रमा कार्यरत सप्तरीका ४९ जना अझै सम्पर्कमा आएका छैनन्। उनीहरूमध्ये इन्जिनियर, ओभरसियर, प्राविधिक, सुपरभाइजर र कामदार रहेका छन्।

सम्पर्कविहीन हुनेमा महादेवा–२ का इन्जिनियर देवकुमार इसर र इन्द्रनारायण इसर, खडक नगरपालिका–७ का सुनिता राम र उनका छोरा दिवान्स राम, विष्णुपुर–१ का अजयकुमार यादव, तिलाठी कोइलाडी–४ का सञ्जय साह, तिरहुत–४ का इन्जिनियर रविन्द्रकुमार यादव, राजगढ–२ का इन्जिनियर राजीवकुमार सिंहलगायत छन्।

त्यस्तै सुरुङ्गा–२ का सरोज चौधरी, कञ्चनरुप–६ का अनिल विश्वकर्मा, महादेवा–२ का सन्तोष यादव, शम्भुनाथका पिताम्बरप्रसाद दास तथा तिलाठी कोइलाडीका दिलीपकुमार मण्डल पनि सम्पर्कविहीन रहेको प्रशासनले जनाएको छ। शम्भुनाथ नगरपालिकाका विभिन्न वडाका रमेश चौधरी, हृदयनारायण चौधरी, सुरेन्द्रदेव चौधरी, दिपेन्द्र चौधरी, प्रेमसागर चौधरी, साजन चौधरी, ओमप्रकाश चौधरी र त्रिभुवनकुमार मण्डल पनि सम्पर्कमा आएका छैनन्।

सम्पर्कविहीन भारतीय नागरिकमा मधुवनी जिल्लाका सरोजकुमार गुप्ता र रञ्जितकुमार गुप्ता रहेका छन्। उनीहरू रसुवाका विभिन्न जलविद्युत् आयोजनामा कार्यरत थिए।

प्रशासनले उद्धार तथा खोजी कार्य जारी रहेको जनाएको छ।

१५ भाद्र २०८३, सोमबार ०८:५५ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०