१७ भाद्र २०८३, बुधबार
Follow us :

भोटेकोशी बाढी : बीमा कम्पनीमा २५ अर्ब ८७ करोडको दाबी

विनाशकारी बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २५ अर्ब ८७ करोड रुपैयाँ नाघेको छ।

कान्तिपुर प्रेस

काठमाडौं । भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट भएको क्षतिको बीमा दाबी रकम २५ अर्ब ८७ करोड रुपैयाँ नाघेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार विभिन्न १५ निर्जीवन बीमा कम्पनीमा ५८३ वटा बीमालेखअन्तर्गत २५ अर्ब ८७ करोड ३५ लाख ७९ हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको हो।

बाढीबाट जलविद्युत् आयोजना, सडक तथा अन्य पूर्वाधार, सवारीसाधन, सम्पत्ति र ढुवानी क्षेत्रमा ठूलो क्षति पुगेपछि बीमा दाबीको रकम बढेको हो। प्रारम्भिक विवरण भएकाले क्षतिको विस्तृत मूल्याङ्कनपछि दाबी रकम अझै बढ्न सक्ने देखिएको छ।

बीमालेखको प्रकारअनुसार सबैभन्दा ठूलो दाबी इन्जिनियरिङ तथा ठेकेदार जोखिम बीमा अन्तर्गत परेको छ। यस शीर्षकमा ५२ वटा बीमालेखबाट मात्रै २० अर्ब ५० करोड ७७ लाख ९० हजार रुपैयाँ बराबरको प्रारम्भिक दाबी परेको छ।

त्यस्तै, सम्पत्ति बीमामा २ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी, मोटर बीमामा १ अर्ब ५५ करोड रुपैयाँभन्दा बढी र परिवहन बीमामा करिब ९० करोड रुपैयाँ बराबरको दाबी परेको छ। अन्य बीमा शीर्षकमा पनि उल्लेख्य दाबी परेको प्राधिकरणको विवरणमा उल्लेख छ।

कम्पनीगत रूपमा सबैभन्दा ठूलो दाबी दि ओरियन्टल इन्स्योरेन्स कम्पनीमा परेको छ। उक्त कम्पनीमा आठ वटा बीमालेखबाट १३ अर्ब ४ करोड २१ लाख रुपैयाँभन्दा बढीको प्रारम्भिक दाबी परेको छ।

त्यसपछि युनाइटेड अजोड इन्स्योरेन्समा ४ अर्ब ९७ करोड रुपैयाँ, सानिमा जीआईसी इन्स्योरेन्समा २ अर्ब १० करोड रुपैयाँ, सिद्धार्थ प्रिमियर इन्स्योरेन्समा १ अर्ब ८८ करोड रुपैयाँ र शिखर इन्स्योरेन्समा १ अर्ब ८७ करोड रुपैयाँ बराबरको दाबी परेको छ।

बीमा कम्पनीहरूमा परेको रकम प्रारम्भिक दाबी भएकाले तत्कालै यही रकम बराबरको भुक्तानी दायित्व निश्चित नहुने देखिन्छ। क्षतिको स्थलगत निरीक्षण, सर्भे तथा आवश्यक कागजातको परीक्षणपछि मात्रै वास्तविक बीमा दायित्व यकिन हुनेछ।बाढीबाट जलविद्युत् आयोजना तथा अन्य ठूला पूर्वाधारमा भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेकाले आगामी दिनमा बीमा दाबी थप बढ्न सक्ने बीमा क्षेत्रका जानकारहरूले बताएका छन्।

१७ भाद्र २०८३, बुधबार ०७:१० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०