काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बुधबार दिउँसो १ बजे बस्दैछ। सिंहदरबारस्थित संघीय संसद् भवनमा बस्ने बैठकमा भोटेकोशी–त्रिशूली नदीमा आएको बाढी र त्यसबाट भएको जनधनको क्षतिबारे विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ।
सभामुख डोलप्रसाद अर्यालले बाढीका कारण भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्ने प्रस्ताव प्रस्तुत गर्नेछन्। विशेष प्रस्तावमा २०८३ भदौ १० गते बुधबार आएको बाढीबाट रसुवाको टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन तथा गोरखाका त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो क्षति भएको उल्लेख छ।
बाढीमा ठूलो संख्यामा स्वदेशी तथा विदेशी नागरिक बेपत्ता हुनुका साथै धेरैको मृत्यु भएको र व्यापक जनधनको क्षति भएको भन्दै प्रतिनिधिसभाले दुःख व्यक्त गर्नेछ। प्रस्तावमार्फत बाढीका कारण घरबारविहीन भएकाहरूको उचित व्यवस्थापन र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिनेछ। साथै, दिवंगतप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरिनेछ।











