१९ भाद्र २०८३, शुक्रबार
Follow us :

श्रीकृष्ण जन्माष्टमीसँगै थारू महिलाले मनाउँदैछन् अष्टिम्की पर्व

मटावाँको घरबाट सुरु हुन्छ पूजा

कान्तिपुर प्रेस

दाङ, भदौ १९ गते । थारू समुदायका महिलाले शुक्रबारदेखि अष्टिम्की पर्व मनाउँदैछन्। हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीका दिन मनाइने अष्टिम्की यस वर्ष पनि विभिन्न मौलिक तथा परम्परागत विधि पूरा गरी उल्लासका साथ मनाउन लागिएको हो।

दुई दिनसम्म मनाइने अष्टिम्की थारू समुदायका महिलाका लागि विशेष सांस्कृतिक पर्व हो। पर्वको पहिलो दिन महिलाहरू दिनभर निराहार व्रत बस्ने गर्छन्। साँझ अष्टिम्की पूजा गरिन्छ भने दोस्रो दिन व्रत समापनसँगै विभिन्न परम्परागत विधि पूरा गरी पर्वको समापन गर्ने गरिन्छ।

घोराही उपमहानगरपालिका–१२, हापुरकी सुशीला चौधरीका अनुसार अष्टिम्कीको पहिलो दिन बिहानै मटावाँको घरको बैठक कोठाको उत्तरतर्फको भित्तालाई लिपपोत गरी सेतो चुनले रङ्गाइन्छ। त्यसपछि उक्त भित्तामा भगवान् श्रीकृष्णको जीवनी तथा थारू समुदायको संस्कृति र परम्परासँग सम्बन्धित विभिन्न चित्र कोर्ने गरिन्छ।

भित्तामा बनाइने चित्रमा श्रीकृष्ण अर्थात् कान्हासँगै सूर्य, चन्द्रमा, कौरवका सात भाइ, दुलाहा–दुलही, दुलहीलाई पठाउन प्रयोग गरिने डोली तथा दुलाहालाई पठाउन प्रयोग गरिने ‘ड्वाला’ लगायतका चित्र समावेश गरिन्छ।

त्यसैगरी माछा, गंगटा, बाघ, हात्ती, मयूर, सर्प, गाईलगायत विभिन्न चराचुरुङ्गी तथा जनावरका चित्रसमेत भित्तामा बनाउने परम्परा रहेको चौधरीले बताउनुभयो।

उहाँका अनुसार अष्टिम्कीका अवसरमा बनाइने यी चित्र केवल धार्मिक आस्थासँग मात्रै जोडिएका छैनन्, थारू समुदायको संस्कृति, परम्परा र सभ्यताको महत्वपूर्ण हिस्सा पनि हुन्।

“अष्टिम्कीको दिन भित्तामा कोरिने चित्र हाम्रो संस्कृति, परम्परा र सभ्यता पनि हो,” चौधरीले भन्नुभयो, “चित्र बनाइसकेपछि साँझ गाउँभरिका महिला नजिकैको खोलामा स्नान गरेर पूजा गर्न मटावाँको घरमा जम्मा हुन्छन्।”

महिलाहरू अष्टिम्कीका अवसरमा आफ्नै मौलिक पहिरनमा सजिएर बलिरहेको दियो र रङ्गीचङ्गी फूल लिएर मटावाँको घरमा पुग्ने गर्छन्।

मटावाँको घरबाट सुरु हुन्छ पूजा

गाउँभरिका महिला जम्मा भएपछि मटावाँकी श्रीमतीबाट अष्टिम्की पूजाको सुरुवात गर्ने परम्परा रहेको चौधरीले बताउनुभयो। पूजापछि उमेर तथा परम्परागत क्रमअनुसार ठुलाबाट सानाले क्रमशः पूजा गर्ने चलन छ।

पूजाका क्रममा महिलाहरूले सामूहिक रूपमा अष्टिम्कीका परम्परागत गीत गाउने गर्छन्। पूजा, गीत र सामूहिक सहभागिताका कारण अष्टिम्कीको पहिलो दिन गाउँमा विशेष उल्लासको वातावरण बन्ने गरेको स्थानीय बताउँछन्।

चौधरीका अनुसार पूजापाठका क्रममा महिलाहरूले सामूहिक रूपमा गीत गाउँदै धार्मिक तथा सांस्कृतिक परम्परालाई निरन्तरता दिने गरेका छन्।

पूजा सम्पन्न भएपछि महिलाहरू घर–घरमा पुगेर फलफूल र दही खाने गर्छन्। त्यसपछि पुनः मटावाँको घरमा जम्मा भएर रातभर अष्टिम्कीका गीत गाउँदै जाग्राम बस्ने परम्परा रहेको छ।

यसरी रातभर जाग्राम बसेर गीत गाउने, पूजा गर्ने र सामूहिक रूपमा पर्व मनाउने परम्पराले अष्टिम्कीलाई धार्मिक पर्वसँगै थारू समुदायको सामाजिक तथा सांस्कृतिक एकताको पर्वका रूपमा समेत स्थापित गरेको छ।

दोस्रो दिन पूजासामग्री खोलामा सेलाइन्छ

अष्टिम्की पर्वको दोस्रो दिन बिहान महिलाहरूले पुनः अष्टिम्की टिकेर पूजा कार्य सम्पन्न गर्ने गर्छन्। त्यसपछि पूजामा प्रयोग गरिएका सामग्रीसहित बलिरहेको दियो, ज्यामिरे तथा फूलहरू नजिकैको खोलामा लगेर सेलाउने परम्परा छ।

पूजाका सामग्री खोलामा सेलाएपछि महिलाहरूले नुहाइधुवाइ गरी घर फर्किने गर्छन्। त्यसपछि विभिन्न मिठामिठा परिकार बनाएर खाने तथा आफन्त र परिवारसँग रमाइलो गर्दै अष्टिम्की पर्वको समापन गर्ने गरिन्छ।

अष्टिम्की थारू समुदायको मौलिक धार्मिक तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्वका रूपमा मनाइँदै आएको छ। पर्वका क्रममा बनाइने भित्तेचित्र, मौलिक पहिरन, सामूहिक पूजा, गीत तथा परम्परागत विधिले थारू समुदायको जीवनशैली, संस्कृति र सभ्यतालाई प्रतिबिम्बित गर्ने स्थानीयको भनाइ छ।

दाङसँगै बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेत जिल्लामा बसोबास गर्ने थारू समुदायका महिलाले पनि अष्टिम्की पर्व उल्लासमय वातावरणमा मनाउँदै आएका छन्। पछिल्ला वर्षमा नयाँ पुस्तालाई समेत आफ्नो मौलिक संस्कृति र परम्पराबारे जानकारी गराउँदै पर्वका विधि र परम्परालाई निरन्तरता दिने प्रयास भइरहेको छ।

१९ भाद्र २०८३, शुक्रबार ०७:३६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०