गोरखा । गोरखाको हिमाली क्षेत्र चुमनुब्री गाउँपालिकामा थेराङ खोलामा आएको बाढीले चार घर र एउटा झोलुङ्गे पुल बगाएको छ।चुमनुब्री गाउँपालिका–४ र २ भएर बग्ने थेराङ खोलामा आज बिहान आएको बाढीले चुमनुब्री–४ स्थित चारवटा घर बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ।
बाढीले नाम्रुङकानुर्वु ओङ्ग्याल (नुर्वु छिरिङ), उर्गेन छयोदेन, लाक्पा भुटी र दोर्जे ग्याल्जेनको घर बगाएको हो।जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार बाढीबाट मानवीय क्षति भने भएको छैन। बाढी आउन लागेको जानकारी पाएपछि स्थानीयवासी समयमै सुरक्षित स्थानतर्फ भागेर ज्यान जोगाउन सफल भएका थिए।
बाढीले स्थानीयवासीको घरसँगै सोही क्षेत्रमा रहेको एउटा झोलुङ्गे पुलसमेत बगाएको प्रहरीले जनाएको छ। पुल बगाएपछि त्यस क्षेत्रको आवतजावत प्रभावित भएको छ।विशेषगरी मनास्लु पदयात्रामा गएका पर्यटकलाई पुल बगाएपछि आवतजावतमा समस्या पर्न सक्ने बताइएको छ। पदयात्रा मार्गमा रहेको पुल बगाएपछि तत्काल वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्ने अवस्था आएको छ।
चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले तत्कालका लागि स्थानीयस्तरबाट हिँड्न मिल्ने गरी वैकल्पिक व्यवस्था गर्न सकिने बताउनुभएको छ। स्थायी रूपमा आवतजावत सहज बनाउन भने पुल पुनर्निर्माण आवश्यक पर्ने देखिएको छ।
सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार खोलाको मुहानी क्षेत्रमा केही समय पानी थुनिएपछि लेदोसहितको ठूलो बाढी आएको थियो। त्यसकै कारण खोलाको आसपासका क्षेत्रमा क्षति पुगेको उहाँले जानकारी दिनुभयो।
थेराङ खोला बूढीगण्डकी नदीमा मिसिने भएकाले बाढीपछि बूढीगण्डकीको तटीय क्षेत्रमा समेत जोखिम बढ्न सक्ने प्रशासनले जनाएको छ।
प्रशासनले बूढीगण्डकी नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ। खोलामा पानीको बहाव बढ्न सक्ने सम्भावना रहेकाले नदी तथा खोलाको किनारमा नजान र स्थानीय प्रशासनले जारी गर्ने सूचना तथा चेतावनी पालना गर्न आग्रह गरिएको छ।
बाढीबाट चार घर र एउटा झोलुङ्गे पुलमा क्षति पुगे पनि हालसम्म मानवीय क्षतिको विवरण प्राप्त नभएको प्रहरीले जनाएको छ। क्षतिको थप विवरण संकलन तथा अवस्थाको निगरानी भइरहेको छ।











