काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीका लागि काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले भेटघाट सुरु गरेका छन्।बुधबार बिहान काठमाडौं आइपुगेका मिश्रीले लगत्तै परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका हुन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्री खनालको सचिवालयले जनाएको छ।
मन्त्रालयका अनुसार भेटका क्रममा दुई देशबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने र ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई अझ सुदृढ गर्ने विषयमा कुराकानी भएको थियो।
त्यसैगरी, आपसी सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा पनि दुवै पक्षबीच छलफल भएको मन्त्रालयले जनाएको छ।
प्रधानमन्त्री बालेन्द्र शाहको प्रस्तावित भारत भ्रमणको तयारीका सिलसिलामा भारतीय विदेश सचिव मिश्री नेपाल आएका हुन्। उनको भ्रमणलाई प्रधानमन्त्रीको भारत भ्रमणको तयारी र नेपाल–भारत उच्चस्तरीय कूटनीतिक संवादका दृष्टिले महत्त्वपूर्ण रूपमा हेरिएको छ।












