काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत आजको खेलमा लुम्बिनी लायन्सले जनकपुर बोल्ट्सलाई १५० रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४९ रन बनायो।लुम्बिनीका कप्तान रोहितकुमार पौडेलले सर्वाधिक ३४ रन बनाए। जनकपुरका विशाल सुस्लिङ र राहुल यादवले समान २–२ विकेट लिए।
लुम्बिनी अहिले ५ अंकसहित अंकतालिकाको शीर्ष स्थानमा छ। जनकपुरविरुद्ध जित निकाल्न सके उसले शीर्ष स्थानमा आफ्नो पकड थप बलियो बनाउनेछ। अर्कोतर्फ, लुम्बिनीलाई हराउन सके जनकपुर पनि शीर्ष स्थानमा उक्लिनेछ। त्यसैले दुवै टोलीका लागि यो खेल अंकतालिकाको शीर्ष स्थानमा पुग्ने महत्वपूर्ण अवसर बनेको छ।
आजै साँझ ५ बजे दोस्रो खेलमा विराटनगर किंग्स र काठमाडौं गोर्खाजबीच प्रतिस्पर्धा हुनेछ। विराटनगरले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको छ भने काठमाडौंले दुई खेलमध्ये एकमा जित र एकमा हार व्यहोरेको छ।
लुम्बिनीले दिएको १५० रनको लक्ष्य पछ्याउँदै जनकपुरले अब जवाफी ब्याटिङ गर्नेछ।











