१९ कार्तिक २०८३, बिहीबार
Follow us :

पार्टी नेतृत्वविरुद्धको षड्यन्त्रको सशक्त प्रतिवाद गर्ने कांग्रेसको निर्णय

पार्टीको वैधानिकतामाथि भ्रम फैलाइएको कांग्रेसको आरोप, संसद् र संसदीय समितिमार्फत विषय उठाउने तयारी।

कान्तिपुर प्रेस

१९ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसले पार्टी नेतृत्व र वैधानिकतामाथि भ्रम सिर्जना गर्ने प्रयास भइरहेको भन्दै त्यसको सशक्त प्रतिवाद गर्ने निर्णय गरेको छ।कांग्रेसका सहमहामन्त्री प्रकाश रसाइलीले पार्टीका पदाधिकारी तथा संघीय सांसदहरूसँगको बैठकले पार्टीविरुद्ध भइरहेको भनिएको षड्यन्त्रको संसद्, संसदीय समिति र आम नागरिकमाझ तथ्यसहित भण्डाफोर गर्ने निर्णय गरेको जानकारी दिए।

उनले राज्य संरक्षित तथा राज्य नियन्त्रित व्यक्तिहरूमार्फत कांग्रेस र पार्टी नेतृत्वविरुद्ध भ्रम सिर्जना गर्ने प्रयास भइरहेको आरोप लगाए। यस्ता गतिविधिको पार्टीले खुलेर विरोध र प्रतिरोध गर्ने उनको भनाइ छ।

‘राज्य संरक्षित व्यक्तिहरूमार्फत नेपाली कांग्रेस पार्टी र यसको नेतृत्वविरुद्ध भ्रम तथा षड्यन्त्र सिर्जना गर्ने प्रयास भएको भन्दै पार्टीले त्यसको कडा प्रतिवाद र विरोध गर्ने निर्णय गरेको छ,’ रसाइलीले भने, ‘यस विषयलाई प्रतिनिधिसभा, संसदीय समितिहरू तथा आम नागरिकमाझ तथ्यसहित उठाइनेछ।’

उनका अनुसार निर्वाचनका बेला पार्टीको अद्यावधिक अवस्था र वैधानिकतासँग सम्बन्धित नरहेका व्यक्तिहरूलाई समेत जोडेर पार्टी नेतृत्वविरुद्ध भ्रम फैलाउने काम भएको बैठकको निष्कर्ष छ।

कांग्रेसले यसअघि नै संसद् अधिवेशन आह्वानको माग गरिसकेको उल्लेख गर्दै रसाइलीले संसद् र संसदीय समितिमार्फत घटनाको वास्तविकता बाहिर ल्याउने बताए। राज्यले जुनसुकै प्रकारको छानबिन गर्न चाहे पनि पार्टी त्यसबाट पछि नहट्ने उनले स्पष्ट पारे।

‘नेपाली कांग्रेसले संसद् अधिवेशन आह्वानको माग गरिसकेको छ। संसद् र संसदीय समितिहरूमा यस विषयलाई गम्भीरतापूर्वक उठाउने निर्णय भएको छ। पार्टी कुनै पनि प्रकारको छानबिनबाट पछि नहट्ने स्पष्ट प्रतिबद्धता व्यक्त गर्दछ,’ उनले भने।

बैठकमा भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रका नागरिकलाई सहयोग गर्ने विषयमा पनि छलफल भएको छ। चाडपर्वको समयमा प्रभावित नागरिकलाई पार्टीका तर्फबाट सक्दो सहयोग गर्ने उद्देश्यले सम्बन्धित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई बोलाइएको रसाइलीले जानकारी दिए।

उनका अनुसार कात्तिक २० गते दिउँसो २ बजे प्रभावित क्षेत्रका सांसद तथा जनप्रतिनिधिलाई पार्टी कार्यालयमा बोलाइएको छ। बैठकले बाढी प्रभावित नागरिकलाई आवश्यक सहयोग गर्ने निर्णयसमेत गरेको छ।

 

१९ कार्तिक २०८३, बिहीबार १८:१८ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०