काठमाडौँ । सलिनमान बनिया फिल्म ‘ए मेरो हजुर २’बाट अभिनेताका रूपमा डेब्यु गरेका थिए ।
पहिलो फिल्मबाटै राम्रो चर्चा र सफल हात पारेका उनले त्यसपछि ‘यात्राः अ म्युजिकल भ्लग’ अभिनय गरे । दुबै फिल्मबाट युवापुस्ताका दर्शकको रोजाइमा पर्न सफल उनी त्यसपछि फिल्म तथा सामाजिक सञ्जालबाट एकाएक हराए ।
अहिले भने उनले फिल्ममा फर्किन लागेको संकेत गरेका छन् । नयाँ वर्षमा सामाजिक सञ्जालमा एक तस्बिर सहित उनले पोस्ट गरेका छन् ,‘कहिलेकाहीँ दूरी अन्त्य होइन, तयारी हुन्छ । आठ वर्षको मौनता पछि, नयाँ वर्षले केही पुराना रङहरू फेरि जिउँदो पार्न खोज्दै छ ।’
उनको पोस्टले उनी फिल्मको तयारीमा रहेको बुझिएको छ । उनी कुन फिल्मबाट अभिनयमा फर्किन लागेको हो त्यो भने खुलाएको छैनन् ।












