चन्द्रागिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो २५औँ स्थापना दिवस (रजत जयन्ती) विविध कार्यक्रमसहित भव्य रूपमा मनाएको छ। चन्द्रागिरी नगरपालिका–७, थानकोटस्थित मुख्य कार्यालयमा आयोजित शुभारम्भ कार्यक्रममा संस्थाका अध्यक्ष शिवशंकर मानन्धरको सभापतित्व रहेको थियो।
अध्यक्ष मानन्धरले २५ वर्षे यात्रालाई सदस्यहरूको विश्वास, सहयोग र समर्पित टिमवर्कको परिणामका रूपमा व्याख्या गर्दै आगामी दिनमा अझ प्रविधिमैत्री, पारदर्शी र प्रभावकारी सेवा विस्तार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

कार्यक्रमको उद्घाटन समाजसेवी तथा शिक्षाप्रेमी सुरेन्द्र बहादुर खड्काले पानसमा दीप प्रज्वलन गरी गर्नुभएको थियो। रजत जयन्ती उपसमिति संयोजक तथा पूर्वअध्यक्ष योगेन्द्र कुमार कुँवरले संस्थाको २५ वर्षे यात्रा, उतार–चढाव र उपलब्धिबारे प्रकाश पार्नुभयो।
लेखा तथा सुपरिवेक्षण समितिका संयोजक भानु प्रकाश ढकालले संस्थागत मूल्य र अनुशासन कायम राख्न आग्रह गर्नुभयो भने संस्थापक अध्यक्ष रुद्र प्रसाद शर्माले संस्थाको उद्देश्य अझै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो। प्रा.डा. राम शरण पाठकले विगतका अनुभवलाई आधार मानेर सतर्कतापूर्वक अघि बढ्न सुझाव दिनुभयो।
संस्थाका प्रमुख कार्यकारी अधिकृत कृष्ण कुमार श्रेष्ठले २५ बुँदे प्रतिबद्धता सार्वजनिक गर्दै सदस्यको विश्वास अभिवृद्धि, महिला तथा युवा सशक्तिकरण, डिजिटल सेवा विस्तार, पारदर्शिता र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राखिने जानकारी दिनुभयो। सो अवसरमा रजत जयन्तीको लोगो र नारा पनि सार्वजनिक गरिएको थियो। उत्कृष्ट लोगो र नाराका लागि क्रमशः वीर बहादुर तामाङ र विष्णु प्रसाद पौडेल पुरस्कृत भए।

रजत जयन्ती वर्षभर “विश्वासको सहयात्रा” नारासहित सहकारी मेला, उद्यमशीलता प्रवर्द्धन लगायत विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ। पूर्वसन्ध्यामा मुख्य कार्यालयसहित सबै सेवा केन्द्रमा दीपावली पनि गरिएको थियो।
यसैबीच, मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पतालको प्राविधिक सहयोग तथा चन्द्रागिरी साकोस र लायन्स क्लब अफ चन्द्रागिरीको संयुक्त आयोजनामा “रक्तदान महादान” अभियानअन्तर्गत सम्पन्न रक्तदान कार्यक्रममा १०३ जनाले रक्तदान गरेका थिए।
संस्थाले सम्पूर्ण सदस्य, कर्मचारी, सहयोगी संस्था तथा शुभेच्छुकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ सदस्यमुखी र गुणस्तरीय सेवा प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।











