१३ बैशाख २०८३, आईतवार
Follow us :

‘परालको आगो’ले २ दिनमा १ करोडमाथि कमाएको निर्माताको दाबी

कान्तिपुर प्रेस

काठमाडौँ – गत शुक्रबारबाट प्रदर्शनमा आएको फिल्म ‘परालको आगो’ले घरेलु बक्स अफिसमा उत्साहजनक सुरुवात गरेको छ ।

एक सयभन्दा बढी शोजसहित प्रदर्शनमा उत्रिएको यो फिल्मले पहिलो दुई दिनमा १ करोडमाथि ग्रस कमाइ गरेको निर्माताले दाबी गरेका छन् । फिल्मले पहिलो दिन ४० लाख हाराहारी र दोस्रो दिन शनिबार ६० लाखमाथि व्यापार गरेको जनाइएको छ ।

फिल्मले शुक्रबार देशव्यापी ३० प्रतिशत हाराहारी अकुपेन्सी हासिल गरेको थियो । काठमाडौंसहित नेपालगञ्ज, धनगडी, बुटवल लगायतका सहरमा फिल्मका शोहरू बिहानैदेखि भरिभराउ थिए ।

पहिलो शोमा दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त हुँदा त्यसको प्रभाव मध्यान्हपछिका शोमा देखिएको थियो । शनिबार भने फिल्मले देशव्यापी ५० प्रतिशतमाथि अकुपेन्सी हासिल गर्‍यो ।

फिल्म प्रदर्शन भएसँगै निर्माता-निर्देशकदेखि कलाकारसम्म काठमाडौंमा विभिन्न हलमा पुगेर दर्शकसँग साक्षात्कार गरिरहेका छन् । शनिबार फिल्मका मुख्य जोडी प्रकाश सपूत र सुहाना थापा बाजालुस्थित अष्टनारायण हलमा पुग्दा त्यहाँको ट्राफिक व्यवस्थापन नै अस्तव्यस्त बनेको थियो । उक्त हलमा करिब १ हजार दर्शकले फिल्म हेरेका थिए ।

paralko aago

लक्ष्मण सुनारको निर्देशनमा बनेको यस फिल्ममा प्रकाश र सुहानासहित सौगात मल्ल, सिर्जना अधिकारी, शंकर आचार्य, ज्याक श्रेष्ठ, किशोर भण्डारी, सरिता भण्डारी, मन्जिला बानियाँलगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ । सुशील देवकोटाको पटकथा तथा संवाद लेखन रहेको फिल्ममा श्रीमान्-श्रीमतीको झगडालाई मुख्य विषयवस्तु बनाइएको छ ।

१३ बैशाख २०८३, आईतवार ११:०१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०