काठमाडौँ । फिल्म ‘छ माया छपक्कै २’को शुभ मुर्हुत गरिएको छ ।
सोमबार (आज) बिहान भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा कलाकार तथा निर्माण पक्षको उपस्थितिमा फिल्मको मुहूर्त गरिएको हो । फिल्मको छायाङ्कन भने ३ दिनपछि नुवाकोटबाट सुरु निर्माण युनिटले जनाएको छ ।
नेपालको फिल्म निर्माणमा सबैभन्दा सफल मानिएको दीपक–दीपा समूहको निर्माण रहेको यो फिल्म दीपेन्द्र लामाले निर्देशन गर्न लागेका हुन् । दीपकराज गिरी र केकी अधिकारीको मुख्य भूमिका रहने फिल्ममा अभिनेत्री सनिशा भट्टराईको पनि अभिनय रहनेछ ।
दीपक–दीपा समूहको कम्पनी आमा सरस्वती मूभिजसँगको सहकार्यमा ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीले यस फिल्मको निर्माण गर्दैछन् । यी दुवैको सहकार्यमा यसअघि सन् २०१९ मा प्रदर्शनमा आएको ‘छ माया छपक्कै’ बनेको थियो ।
नुवाकोटसहित पोखरा र काठमाडौँमा समेत फिल्मको छायाङ्कन हुनेछ । फिल्म रिलिज भने आगामी दसैँबाट हुने जनाइएको छ ।











