काठमाण्डाै – अझै एक हप्ता देशका विभिन्न भागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आजदेखि आउँदो मङ्गलवार जेठ २४ गतेसम्म देशका विभिन्न भागमा मध्यमदेखि ठूलो पानी पर्ने सम्भावना रहेको विभागका मौसमविद् डेभिड ढकालले जानकारी दिनुभयो ।
अबको एक हप्ता कोशी, बागमती र गण्डकीका तराई क्षेत्र तथा मधेश प्रदेशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । विभागका मौसमविद् ढकालका अनुसार यी प्रदेशका १/२ ठाउँमा ठूलो वर्षाको सम्भावना छ ।
यस्तै कोशी, बागमती, गण्डकी र लुम्बिनीका धेरै ठाउँ तथा कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ । मौसमविद् ढकालका अनुसार गण्डकी प्रदेशमा हप्तैभरि वर्षाको सम्भावना छ । आउँदो मङ्गलवारसम्म देशका हिमाली भेगका केही ठाउँमा हिउँ पर्ने पनि सम्भावना छ । अबको एक हप्ता गर्मी केही कम हुने विभागको पूर्वानुमान छ ।
प्रि–मनसुनमा वर्षासँगै मेघगर्जन/चट्याङ र हावाहुरी पनि चल्ने सम्भावना रहेकाले सावधानी अपनाउन विभागको आग्रह छ । यो बेला मौसम छिनछिनमै परिवर्तन भइरहने भएकाले पछिल्लो अवस्थाबारे जानकारी लिन विभागको भनाइ छ ।










