२० जेष्ठ २०८३, बुधबार
Follow us :

आदिवासी जनजाति चलचित्र महोत्सवमा विभिन्न विद्यामा उत्कृष्टलाई ‘अवार्ड’

कान्तिपुर प्रेस

खोटाङ– नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घ सङ्घीय परिषद्ले कलाकार, निर्देशक तथा छायाँकारसहित आदिवासी जनजातिसँग सम्बन्धित कलाकारिताका क्षेत्रका विभिन्न ११ विद्यामा उत्कृष्टलाई अवार्ड वितरण गरेको छ ।

चलचित्र विकास बोर्ड तथा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानसँगको सहकार्यमा चलचित्र महासङ्घले आयोजना गरेको तीन दिने ‘छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव–२०८३’ समापन कार्यक्रममा विभिन्न विद्यामा उत्कृष्टलाई मङ्गलबार अवार्ड वितरण गरिएको हो ।

महोत्सवमा प्रदर्शन गरिएका चलचित्रमध्येबाट पब्लिक च्वाइस अवार्ड लिम्बू चलचित्र ‘रीत’, उत्कृष्ट चलचित्र अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’, उत्कृष्ट स्क्रिप्ट लखन अवार्ड गुरुङ चलचित्र ‘ङोल्स्यो रामरानी’का लेखक विवेक गुरुङ, उत्कृष्ट निर्देशक अवार्ड लिम्बू चलचित्र ‘रीत’का निर्देशक दिनेश लिङ्देन, उत्कृष्ट अभिनेता अवार्ड मगर चलचित्र ‘दिलसरा’का अभिनेता कल्याण रानामगर तथा उत्कृष्ट अभिनेत्री अवार्ड नेवारी चलचित्र ‘स्वयनगु’की अभिनेतृ भिन्तुना श्रेष्ठले प्रदान गरियो ।

उत्कृष्ट छायाङ्कन अवार्ड तामाङ चलचित्र ‘ह्याङ तामाङ’ छायाँकार सूर्य लामा, जुरी अवार्ड राजवंशी वृत्तचित्र ‘विराटनगरके प्राचीन राजवंशी’, इन्करेजमेन्ट अवार्ड तामाङ लघु चलचित्र ‘दुखला ग्यम’, उत्कृष्ट लघु चलचित्र मगर लघु चलचित्र ‘लाहुरेनी’ तथा उत्कृष्ट वृत्तचित्र अवार्ड २०८३ मगर वृत्तचित्र ‘आग्रे’लाई प्रदान गरिएको चलचित्र महोत्सव आयोजक समितिका निर्देशक सागर केरुङले जानकारी दिए ।

उत्कृष्ट कलाकार तथा चलचित्रकर्मी, चलचित्र, लघुचलचित्र र वृत्तचित्रलाई कार्यक्रमका प्रमुख अतिथि आदिवासि जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निमित्त प्रमुख राम मादेनले सम्मान प्रदान गरेका थिए ।

काठमाडौँको चाबहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा यही जेठ १७ गते सुरु भएको महोत्सव मङ्गलबार साँझ सम्पन्न भएको हो । महोत्सवमा चलचित्र प्रदर्शनसँगै अन्तरक्रिया, सांस्कृतिक झाँकी प्रदर्शन तथा विभिन्न जातजातिका खानाका स्टल राखिएका थिए ।

महोत्सवमा लिम्बू, नेवारी, गुरुङ, तामाङ, मगर, भुजेल, माझी तथा राजवंशी समुदायका कथानक चलचित्र, लघुचलचित्र, वृत्तचित्र र एआई जेनेरेड वृत्तचित्रहरू प्रदर्शन गरिएको थियो । महोत्सवले आदिवासी जनजाति चलचित्रकर्मी, अनुसन्धानकर्ता र सांस्कृतिक अभियान्ताबीच नयाँ संवाद, सहकार्य तथा वैकल्पिक सिनेम्याटिक विमर्शका लागि महत्त्वपूर्ण आधार तय गरेको आयोजकले जनाएको छ ।

महोत्सवमा आदिवासी जनजातिहरूको भाषा, इतिहास, भूमि, पूर्वजहरूको स्मृति र सिङ्गो आदिवासी जनजाति समुदायको जीवित आत्मा बोलेको निर्देशक केरुङले जानकारी दिए ।

नेपालमा आदिवासी जनजातिसँग सम्बन्धित करिब डेढ हजारभन्दा बढी चलचित्र, लघुचलचित्र तथा वृत्तचित्रहरू निर्माण गरेर प्रदर्शन भइसकेको जनाइएको छ । यहाँका आदिवासी जनजाति चलचित्रकर्मीहरूले मातृभाषा, भूमि सम्बन्ध, पूर्वजगत, लोक ज्ञान, सांस्कृतिक प्रासङ्गिकता, अनुष्ठानिक संरचना तथा सामुदायिक आवाजलाई केन्द्रमा राख्दै एक पृथक आदिवासी सिनेम्याटिक सौन्दर्य दर्शनको विकास गरेको आयोजक नेपाल आदिवासी जनजाति चलचित्र महासङ्घको दाबी छ ।

२० जेष्ठ २०८३, बुधबार ०९:०४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०