काठमाडौं । चलचित्र ‘बाः एक योद्धा’ले नयाँ कलाकार सार्वजनिक गरेको छ । छायांकन सकेर पोस्ट प्रोडक्सनको चरणमा रहेको चलचित्रले नयाँ कलाकारको नाम सार्वजनिक गरेको हो ।
सागर खनाल, शिशिर सिवाकोटी, सुप्रिया शर्मा र शवि थापाको नाम निर्माणपक्षले आज सार्वजनिक गरेको हो । छायांकन सकेर पोस्टको काम समेत सुरु भइसक्दा पनि यी कलाकार आफ्नो चलचित्रमा रहेको निर्माण टिमले बताएको थिएन ।
‘बाः एक योद्धा’मा यी बाहेक मुख्य भूमिकामा अभिनेत्री झरना थापा, सुहाना थापा र अभिनेता दिव्यदेव पन्त छन् । यी कलाकारको नाम भने यसअघि नै सार्वजनिक भइसकेको थियो ।
हरि लम्सालको लेखन तथा निर्देशन रहेको चलचित्र ‘बाः एक योद्धा’ भदौ १९ गतेबाट प्रदर्शनमा आउँदैछ । ‘बाः एक योद्धा’ कुशे औंसी अर्थात् बुबाको मुख हेर्ने दिनको पूर्वसन्ध्यामा प्रदर्शनमा आउन लागेको हो ।
यो चलचित्रको कथासँगै पटकथा पनि लम्साल आफैँले लेखेका छन् ।
‘बाः एक योद्धा’ले नेपाली समाजको वास्तविक पक्षलाई उजागर गर्नेछ । नेपाली समाजमा परिवारमा सन्तानको भविष्यका लागि बुवाले गर्ने त्याग, संघर्ष र जीवनभर झेल्ने चुनौतीहरू ‘बा : एक योद्धा’को मुख्य कथा हो ।
चलचित्रमा शिवराम श्रेष्ठको छायाकंन रहेको छ ।











