विश्व वातावरण दिवस २०८३ को अवसरमा चितवनको भरतपुर महानगरपालिका–१८ स्थित श्री परमानन्द स्मृति वैदिक विद्या भवन परिसरमा सरसफाइ तथा वृक्षारोपण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पर्यावरण संरक्षण एवम् संवर्द्धन संस्था, भरतपुर–१८, गुञ्जानगरको आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।
संस्थाका अध्यक्ष एवं समाजसेवी दयानिधि अर्यालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा भरतपुर महानगरपालिका–१८ का जनप्रतिनिधि तथा जिल्ला समन्वय समिति सदस्य कृष्णभक्त भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।

कार्यक्रममा श्री परमानन्द स्मृति वैदिक विद्या भवन सञ्चालक समितिका अध्यक्ष श्रीलाल अधिकारी, सिर्जनशील नेपालका अध्यक्ष मुक्तिनाथ ढकाल, चनौली बजार व्यवस्थापन समितिका अध्यक्ष हुमनाथ ढकाल, ‘शिक्षा र सरोकार’ तथा ‘स्मार्ट स्कुल सफ्टवेयर’का सञ्चालक विश्वराज अर्याल, विद्यालयका प्राचार्य ज्ञानप्रसाद भुर्तेल, विश्व हिन्दू परिषद् नेपाल बागमती प्रदेशका सचिव उपेन्द्र अर्याल, समाजसेवी शोभाखर भण्डारी, संस्थाका कोषाध्यक्ष हरिप्रसाद घिमिरे, सदस्य विष्णुप्रसाद पौडेल, वृक्षारोपण कार्यक्रमका संयोजक सुदर्शन पण्डित, नेपाल रेडक्रस सोसाइटी गुञ्जानगर उपशाखाका अध्यक्ष हरिराज अर्याल लगायत विभिन्न सरोकारवाला, बुद्धिजीवी तथा स्थानीय सञ्चारकर्मीहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
संस्थाका सचिव विष्णु अर्यालले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै विश्वराज अर्यालले विश्व वातावरणको वर्तमान अवस्था, चुनौती तथा संरक्षणमा नागरिकको भूमिकाबारे प्रकाश पार्नुभयो। त्यसैगरी श्रीलाल अधिकारी र मुक्तिनाथ ढकालले वातावरण संरक्षणको महत्त्व र स्थानीय तहबाट गर्न सकिने पहलका विषयमा धारणा राख्नुभएको थियो।
कार्यक्रमको समापन गर्दै अध्यक्ष दयानिधि अर्यालले मानव जीवन र प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई उजागर गर्दै वातावरण संरक्षणलाई व्यवहारमै उतार्नुपर्ने आवश्यकता औँल्याउनुभयो। उहाँले कार्यक्रम सफल बनाउन स्थान उपलब्ध गराउने श्री परमानन्द स्मृति वैदिक विद्या भवन गुरुकुल विद्यालय परिवार, निःशुल्क बिरुवा उपलब्ध गराउने डिभिजन वन कार्यालय चितवन तथा सहजीकरण गर्ने नेपाल रेडक्रस सोसाइटी गुञ्जानगर उपशाखाप्रति आभार व्यक्त गर्नुभयो।
“समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास” भन्ने मूल नारासहित सम्पन्न कार्यक्रममा विद्यालय परिसरभित्र निम, बेल, कपुर, गुलमोहर लगायत विभिन्न प्रजातिका वातावरणमैत्री तथा शीतलता प्रदान गर्ने बिरुवाहरू रोपिनुका साथै आसपासका क्षेत्रहरूमा सरसफाइ अभियान समेत सञ्चालन गरिएको थियो।
कार्यक्रमले वातावरण संरक्षणप्रति स्थानीय समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै हरित र स्वच्छ वातावरण निर्माणमा सामूहिक सहभागिताको महत्त्वलाई थप उजागर गरेको आयोजक संस्थाले जनाएको छ।











