२६ असार २०८३, शुक्रबार
Follow us :

पाँच वर्षमा राष्ट्रिय वाणिज्य बैंकको उल्लेख्य फड्को, निक्षेप ६.२६ खर्ब र कर्जा प्रवाह ३.३९ खर्ब पुग्यो

कान्तिपुर प्रेस

काठमाडौं ।सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंक लिमिटेड (आरबीबी) ले पछिल्ला पाँच वर्षमा निक्षेप, कर्जा प्रवाह र बजार हिस्सा उल्लेख्य रूपमा विस्तार गरेको जनाएको छ। चुनौतीपूर्ण आर्थिक अवस्थाबीच पनि वित्तीय अनुशासन, जोखिम व्यवस्थापन र जिम्मेवार बैंकिङ अभ्यासलाई प्राथमिकतामा राख्दै बैंकले आफ्नो वित्तीय अवस्था थप सुदृढ बनाएको दाबी गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालका अनुसार चालु आर्थिक वर्षको हालसम्म बैंकको कुल निक्षेप ६ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षमा यो ५ खर्ब ३ अर्ब रुपैयाँ रहेको थियो। एक वर्षमै निक्षेप करिब १ खर्ब २३ अर्ब रुपैयाँ (झन्डै २४ प्रतिशत) ले वृद्धि भएको हो। यससँगै बैंकको निक्षेपतर्फको बजार हिस्सा ७.५९ प्रतिशत पुगेको छ।

कर्जा प्रवाहमा पनि बैंकले उल्लेखनीय वृद्धि गरेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म बैंकले ३ खर्ब ३९ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ। आर्थिक वर्ष २०७८/७९ मा ४.८१ प्रतिशत रहेको कर्जा बजार हिस्सा बढेर चालु आवको तेस्रो त्रैमाससम्म ५.७४ प्रतिशत पुगेको छ।

समग्र अर्थतन्त्रमा कर्जाको माग अपेक्षाकृत कमजोर रहे पनि बैंकले उद्योगको औसतभन्दा उच्च दरमा कर्जा विस्तार गर्न सफल भएको जनाएको छ। बैंकको कर्जा वार्षिक रूपमा १३.२६ प्रतिशत ले बढ्दा वाणिज्य बैंकहरूको औसत कर्जा वृद्धि ७.४३ प्रतिशत मात्रै रहेको तथ्यांकले देखाएको छ।

वित्तीय सूचकमा पनि बैंकले सुधार गरेको जनाएको छ। चैत मसान्तसम्म प्रतिसेयर आम्दानी (EPS) २३ रुपैयाँ ५५ पैसा र प्रतिसेयर नेटवर्थ ३५१ रुपैयाँ ९८ पैसा पुगेको छ। सोही अवधिमा बैंकले २ अर्ब ७६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ।

खराब कर्जाको अवस्था पनि उद्योगको औसतभन्दा राम्रो रहेको बैंकको दाबी छ। समग्र बैंकिङ क्षेत्रको निष्क्रिय कर्जा (NPL) ५.२५ प्रतिशत पुगेको अवस्थामा राष्ट्रिय वाणिज्य बैंकको निष्क्रिय कर्जा ४.४८ प्रतिशत मा सीमित रहेको जनाएको छ। खराब कर्जा थप घटाउने लक्ष्यसहित रणनीतिक योजना कार्यान्वयन भइरहेको बैंकले उल्लेख गरेको छ।

हाल बैंकले देशभरका ७७ जिल्लामा ३१६ शाखा कार्यालय र ३३४ एटीएम मार्फत सेवा दिइरहेको छ। साथै, १ लाख ४७ हजारभन्दा बढी क्यूआर मर्चेन्ट, २० लाख ६२ हजार मोबाइल बैंकिङ प्रयोगकर्ता र करिब ४८ लाख ७० हजार ग्राहक लाई सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ।

२६ असार २०८३, शुक्रबार ०७:३२ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०