२६ असार २०८३, शुक्रबार
Follow us :

एक साताभित्र पुँजी बजार सुधारको रोडम्याप, लगानीकर्तालाई हल्लाको पछि सेबोनको नलाग्न आग्रह

कान्तिपुर प्रेस

नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजार सुधार र लगानीकर्ता हित संरक्षणलाई प्राथमिकतामा राख्दै आगामी एक साताभित्र विस्तृत पुँजी बजार विकास रोडम्याप सार्वजनिक गर्ने घोषणा गरेको छ। बोर्डले सुधारका कार्यक्रमलाई चरणबद्ध रूपमा कार्यान्वयन गर्दै बजारलाई थप व्यवस्थित, पारदर्शी र विश्वसनीय बनाउने जनाएको छ।

बिहीबार जारी विज्ञप्तिमा सेबोनले धितोपत्र बजारमा देखिएका समस्या समाधान, बजारको स्थायित्व कायम गर्ने तथा लगानीकर्ताको विश्वास अभिवृद्धि गर्ने उद्देश्यले समयबद्ध कार्ययोजना तयार गरिएको उल्लेख गरेको छ। साथै, मार्जिन कारोबार, बजार अनुशासन, जोखिम व्यवस्थापन तथा नियामकीय निर्देशनको पूर्ण पालना गर्न सम्बन्धित सबै पक्षलाई निर्देशन दिएको छ।

बोर्डका अनुसार सार्वजनिक निष्कासन (आईपिओ), धितोपत्र दर्ता तथा निष्कासन प्रक्रिया, नियमन प्रणाली र संस्थागत सुशासनमा व्यापक सुधार गरिनेछ। यसका लागि धितोपत्रसम्बन्धी ऐन, नियमावली तथा विभिन्न निर्देशिकाको पुनरावलोकन भइरहेको बोर्डले जनाएको छ।

सेबोनले बजारको आवश्यकता र अन्तर्राष्ट्रिय अभ्यासअनुसार कानुनी तथा नियामकीय संरचनामा परिमार्जन गर्ने तयारी भइरहेको पनि स्पष्ट पारेको छ। यसबाट बजारलाई थप पारदर्शी, प्रभावकारी र लगानीमैत्री बनाउने लक्ष्य राखिएको बोर्डको भनाइ छ।

बोर्डले पछिल्लो समय सामाजिक सञ्जाल तथा अनौपचारिक माध्यमबाट फैलिने अफवाह र अपुष्ट सूचनाका कारण लगानीकर्तामा अन्योल बढेको उल्लेख गर्दै हल्ला र बहकाउपूर्ण सूचनाको आधारमा लगानी निर्णय नगर्न विशेष आग्रह गरेको छ।

विज्ञप्तिमा लगानीकर्तालाई कम्पनीको वित्तीय अवस्था, व्यावसायिक सम्भावना, बजार अवस्था तथा आधिकारिक सूचनाको अध्ययन र आफ्नै जोखिम वहन क्षमताको मूल्याङ्कन गरेर मात्र लगानी गर्न सुझाव दिइएको छ।

सेबोनले बजार अनुशासन कायम गर्ने, पारदर्शिता बढाउने, नियमनलाई थप प्रभावकारी बनाउने तथा लगानीकर्ताको विश्वास पुनः स्थापित गर्ने उद्देश्यका साथ सुधारका कार्यक्रम अघि बढाइने जनाएको छ। बोर्डका अनुसार आगामी दिनमा लागू हुने सुधारहरूले नेपालको पुँजी बजारलाई थप आधुनिक, व्यवस्थित र विश्वसनीय बनाउने अपेक्षा गरिएको छ।

२६ असार २०८३, शुक्रबार ०७:४० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०