दूधको अभाव चुलिँदै गएपछि चितवन मिल्क उद्योग विगत तीन महिनादेखि पूर्ण रूपमा बन्द भएको छ। डेरी तथा दुग्ध सहकारीहरूले ल्याएको दूध प्रशोधन गरी पाउडर दूध र नौनी उत्पादन गर्दै आएको उद्योगमा कच्चा पदार्थ नै नआएपछि उत्पादन ठप्प बनेको हो।
उद्योगका प्रबन्धक दुर्गा पराजुलीका अनुसार विगतमा असार–साउनमा मात्र दूधको कमी हुने गरेको भए पनि यस वर्ष वैशाखदेखि नै उद्योग सञ्चालन हुन सकेको छैन। अहिले उद्योगमा डेरी तथा सहकारीहरूले भण्डारण गरेका पाउडर दूध र नौनीको मौज्दात पनि सकिन लागेको छ। हाल करिब एक हजार बोरा पाउडर दूध मात्रै बाँकी रहेको उद्योगले जनाएको छ। अघिल्ला वर्षहरूमा यही समयमा करिब ५०० टन नौनी र झन्डै ६ हजार बोरा पाउडर दूध मौज्दात रहने गर्थ्यो।
चितवन, मकवानपुर, नवलपरासी र रूपन्देहीलगायत जिल्लाबाट दूध संकलन हुने यो उद्योगले २०७५ सालदेखि डेरी तथा सहकारीहरूको दूध प्रशोधन गर्दै आएको छ। उद्योगले पाउडर दूध प्रशोधनका लागि प्रतिलिटर रु. ११३ र बटर उत्पादनका लागि प्रतिकिलो रु. ५५ शुल्क लिँदै आएको छ। उद्योग व्यवस्थापनले भदौ महिनादेखि दूधको आपूर्ति बढ्ने आशा गरेको छ। उद्योगमा हाल ३३ जना कर्मचारी कार्यरत छन्।
२०६४ सालमा स्थापना भएको उद्योग २०७२ सालको भूकम्पपछि केही समय बन्द भएको थियो। त्यसअघि उद्योग आफैंले किसानबाट दूध खरिद गरी प्रशोधन गरेर बजारमा बिक्री गर्ने व्यवस्था थियो।
जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ चितवनका अध्यक्ष किशोर बगालेका अनुसार भारतमा दूधको अभाव बढेपछि नेपाली सीमावर्ती क्षेत्रबाट दूध भारततर्फ बिक्री हुन थालेको छ। यसले नेपाली किसानले राम्रो मूल्य पाए पनि स्वदेशी उद्योगहरू कच्चा पदार्थको अभावमा प्रभावित भएका छन्। यसको प्रत्यक्ष असर दुग्ध प्रशोधन उद्योग र बजार आपूर्तिमा परेको देखिएको छ।











