गण्डकी प्रदेशका विभिन्न जिल्लामा नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेको पाइएपछि दुई हजार ४३१ व्यावसायिक फर्मलाई कानुनी कारबाही गरिएको छ। गुणस्तर तथा नापतौल कार्यालय पोखराले आर्थिक वर्ष २०८२/८३ को अनुगमनका क्रममा ती फर्ममाथि कारबाही गरेको जनाएको हो।
कार्यालय प्रमुख मनोज पोखरेलका अनुसार नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गर्ने व्यवसायीलाई स्ट्यान्डर्ड नापतौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम कारबाही गरिएको हो।
कारबाहीमा पर्ने फर्महरू कास्की, गोरखा, लम्जुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका रहेका छन्। कार्यालयले नियमित अनुगमनमार्फत उपभोक्ताको हित संरक्षण र बजारमा निष्पक्ष कारोबार सुनिश्चित गर्न यस्तो कारबाही गरिएको जनाएको छ।
यसै अवधिमा नयाँ कारोबार सञ्चालनका लागि एक हजार ७८ व्यावसायिक फर्मलाई नापतौल यन्त्र प्रयोगको अनुमति प्रदान गरिएको छ भने २८ वटा पुराना फर्मको अनुमति नवीकरण गरिएको कार्यालयले जनाएको छ। यससँगै कुल एक हजार १०६ फर्मले अनुमति वा नवीकरण सेवा प्राप्त गरेका छन्।
कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा विभिन्न शीर्षकबाट रु ७८ लाख ५२ हजार ९६७ राजस्व सङ्कलन भएको छ। बजारमा सही नापतौल प्रणाली कायम राख्न नियमित अनुगमनलाई आगामी दिनमा पनि निरन्तरता दिइने कार्यालयले जनाएको छ।











