१३ श्रावण २०८३, बुधबार
Follow us :

एक अर्ब ८९ करोडको हुण्डी कारोबार आरोपमा धादिङका रिजाल पक्राउ

सीआईबीले हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धादिङका राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको छ। एक अर्ब ८९ करोडभन्दा बढी कारोबार गरेको आरोप छ।

कान्तिपुर प्रेस

हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले धादिङका एक व्यक्तिलाई पक्राउ गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालय, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले गोप्य सूचनाका आधारमा बैंकिङ कारोबार विश्लेषण गर्ने क्रममा हुण्डी कारोबारमा संलग्न देखिएपछि राजेन्द्रप्रसाद रिजाललाई पक्राउ गरेको जनाएको छ।

सीआईबीका प्रहरी वरिष्ठ उपरीक्षक तथा प्रवक्ता अनुपम शमशेर ज.ब.रा.का अनुसार रिजालले अन्य व्यक्तिहरूसँगको मिलेमतोमा व्यक्तिगत बैंक खाता प्रयोग गरी रु १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको रकम हुण्डीमार्फत कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार हुण्डीसम्बन्धी कारोबार गर्न नहुने कसुरमा अनुसन्धान अघि बढाउन काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर रिजाललाई पक्राउ गरिएको हो।

सीआईबीले २०८३ साल साउन १२ गते काठमाडौंको नागार्जुन नगरपालिका–८ स्थित राधाकृष्ण मन्दिर क्षेत्रबाट रिजाललाई नियन्त्रणमा लिएको जनाएको छ।

पक्राउ पर्ने व्यक्ति धादिङको साविक सत्यदेवी–८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ बस्ने ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेको सीआईबीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएको छ। हुण्डी कारोबार गैरकानुनी आर्थिक गतिविधिअन्तर्गत पर्ने भएकाले यस्ता कारोबारमा संलग्न व्यक्ति तथा समूहको पहिचान गरी अनुसन्धान अघि बढाइने सीआईबीले जनाएको छ।

१३ श्रावण २०८३, बुधबार १३:२६ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०