१४ श्रावण २०८३, बिहीबार
Follow us :

राजविराजमा रात्रीकालीन उडान अझै सुरु भएन, यात्रु निराश

पूर्वाधार तयार भए पनि यात्रु अभाव देखाउँदै सेवा स्थगित, स्थानीयले तत्काल सञ्चालनको माग

कान्तिपुर प्रेस

राजविराजमा रात्रीकालीन उडान अझै सुरु भएन, यात्रु निराश

राजविराज। तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले उद्घाटन गरेको करिब डेढ वर्ष बितिसक्दा पनि राजविराज विमानस्थलबाट नियमित रात्रीकालीन उडान सेवा सुरु हुन सकेको छैन। आवश्यक पूर्वाधार तयार भइसक्दा पनि सेवा सञ्चालन नहुँदा स्थानीयवासी, व्यवसायी तथा यात्रु निराश बनेका छन्।

तत्कालीन मन्त्री पाण्डेले २०८१ मङ्सिर २९ गते राजविराज विमानस्थलमा रात्रीकालीन उडानको परीक्षण गर्दै चाँडै नियमित सेवा सुरु हुने घोषणा गरेका थिए। त्यसपछि बुद्ध एयरले २०८१ चैत २९ गतेदेखि दैनिक दुई उडान सञ्चालन गर्ने तालिकासमेत सार्वजनिक गरेको थियो। तर घोषणा भएको डेढ वर्ष बितिसक्दा पनि रात्रीकालीन उडान परीक्षणमै सीमित छ।

राजविराज विमानस्थलका प्रमुख हिरोन साहका अनुसार रात्रीकालीन उडानका लागि आवश्यक धावनमार्गका बत्ती, उपकरण तथा अन्य प्राविधिक पूर्वाधार पूर्ण रूपमा तयार छन्। उनले सेवा प्रदायक कम्पनीले चाहेको जुनसुकै बेला रात्रीकालीन उडान सञ्चालन गर्न सक्ने बताए।

यता बुद्ध एयरका स्टेशन म्यानेजर अनिल राजवंशीले अपेक्षाअनुसार यात्रु नबढेका कारण हाललाई योजना स्थगित गरिएको जानकारी दिए। उनका अनुसार आर्थिक वर्ष २०८२/८३ मा १८ हजार ४६८ यात्रुले राजविराज विमानस्थलबाट सेवा लिएका छन्, जबकि अघिल्लो आर्थिक वर्षमा यो संख्या २१ हजार ३६१ थियो।

हाल बुद्ध एयरले राजविराज–काठमाडौं रुटमा दैनिक एक मात्र उडान सञ्चालन गर्दै आएको छ। यात्रुको चाप बढेपछि ४९ सिटको सट्टा ७२ सिट क्षमताको विमान सञ्चालन गरिए पनि दोस्रो अर्थात् साँझको उडान अझै सुरु भएको छैन।

राजवंशीले हवाई इन्धनको मूल्यवृद्धिका कारण भाडादर बढ्दा यात्रु संख्या प्रभावित भएको बताए। उनले भविष्यमा यात्रु संख्या बढे रात्रीकालीन उडान सञ्चालन गर्ने योजना पुनः कार्यान्वयन हुन सक्ने बताए।

सप्तरी उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य अरुण प्रधानले राजविराज विमानस्थल सप्तरीसँगै सिरहा, उदयपुर, सुनसरी तथा सीमावर्ती भारतीय क्षेत्रका यात्रुका लागि पनि महत्त्वपूर्ण केन्द्र रहेको उल्लेख गर्दै तत्काल दैनिक दुई उडान सञ्चालन गर्न सरकार र सेवा प्रदायक कम्पनीलाई आग्रह गरेका छन्।


१४ श्रावण २०८३, बिहीबार ०७:२३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०