१४ श्रावण २०८३, बिहीबार
Follow us :

प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत रश्मि पन्त पक्राउ

४८ करोड रुपैयाँ कर्जा दुरुपयोग प्रकरणमा सिआइबीको अनुसन्धान, राष्ट्र बैंकको प्रतिवेदनपछि कारबाही

कान्तिपुर प्रेस

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी प्रमुख व्यवसाय अधिकृत (Chief Business Officer) रश्मि पन्तलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा पक्राउ गरेको छ। ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग भएको आरोपसँग सम्बन्धित अनुसन्धानका क्रममा उनको संलग्नता देखिएपछि पक्राउ गरिएको सिआइबीले जनाएको छ।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक अनुपमशमशेर जबराका अनुसार बैंकिङ कसुर तथा सजाय ऐन, २०६४ अन्तर्गत केही वित्तीय कारोबार, निर्णय प्रक्रिया तथा व्यवस्थापकीय स्वीकृतिसम्बन्धी विषयमा अनुसन्धान भइरहेको छ।

सिआइबीका अनुसार एसियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष शशिधर शर्माविरुद्ध भइरहेको कर्जा दुरुपयोगसम्बन्धी अनुसन्धानका क्रममा रश्मि पन्तको संलग्नता देखिएपछि पक्राउ गरिएको हो।

नेपाल राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले २०८३ असारमा तयार गरेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनका आधारमा अनुसन्धान अघि बढाइएको हो। प्रतिवेदनअनुसार एसियन भिलेज रिसोर्ट प्रालिले रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि प्रभु बैंकबाट ४८ करोड रुपैयाँ कर्जा लिएको थियो।

अनुसन्धानमा उक्त कर्जाका लागि आवश्यक जग्गा बैंकको नाममा दृष्टिबन्धक नगरी पछि गर्ने कबुलियतनामाका आधारमा कर्जा प्रवाह गरिएको र त्यसपछि रकम तोकिएको उद्देश्यमा प्रयोग नगरी कम्पनीका अध्यक्षसँग पारिवारिक सम्बन्ध रहेका व्यक्ति तथा समूहसँग आबद्ध अन्य ऋणी कम्पनीको बक्यौता तिर्न प्रयोग गरिएको आरोप छ।

नेपाल राष्ट्र बैंकले उक्त कार्यलाई बैंकिङ कसुर तथा सजाय ऐनबमोजिम कर्जा दुरुपयोगको कसुर ठहर गर्दै थप अनुसन्धानका लागि सिआइबीलाई पत्राचार गरेको थियो। त्यसपछि उच्च अदालत पाटनबाट पक्राउ अनुमति लिएर सिआइबीले असार ३० गते एसियन भिलेज रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई पक्राउ गरेको थियो।

यसअघि पनि सिआइबीले प्रभु बैंकको केन्द्रीय कार्यालयबाट महत्त्वपूर्ण कागजात नियन्त्रणमा लिएर तत्कालीन अध्यक्ष देवीप्रकाश भट्टचन, तत्कालीन प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन, नायब प्रमुख कार्यकारी अधिकृत मणिराम पोखरेललगायत उच्च पदस्थ अधिकारीमाथि अनुसन्धान अघि बढाएको थियो।

सिआइबीका अनुसार प्रभु समूहसँग सम्बन्धित आर्थिक अनियमितता तथा कर्जा दुरुपयोगका विभिन्न विषयमा अनुसन्धान जारी छ। यी आरोपहरूबारे अन्तिम कानुनी निष्कर्ष भने अदालतको फैसला पछि मात्र तय हुनेछ।

१४ श्रावण २०८३, बिहीबार ०७:३३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०