१९ श्रावण २०८३, मंगलवार
Follow us :

एनएमबि बैंकले कमायो ४ अर्ब १ करोड रुपैयाँ खुद नाफा

एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै पहिलोपटक ४ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको जनाएको छ।

कान्तिपुर प्रेस

एनएमबि बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्दै पहिलोपटक ४ अर्ब रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरेको जनाएको छ। बैंकका अनुसार समीक्षा अवधिमा खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको २ अर्ब ८५ करोड रुपैयाँको तुलनामा ४०.६५ प्रतिशतले वृद्धि भई ४ अर्ब १ करोड रुपैयाँ पुगेको हो।

बैंकले सार्वजनिक गरेको विवरणअनुसार कुल वितरणयोग्य नाफा १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ भने प्रति शेयर वितरणयोग्य नाफा ९.०८ रुपैयाँ कायम भएको छ।

प्रभावकारी वासलत व्यवस्थापनका कारण खुद ब्याज आम्दानी १७.५५ प्रतिशतले बढेर ९ अर्ब ४२ करोड रुपैयाँ पुगेको बैंकले जनाएको छ। त्यसैगरी डिजिटल तथा ट्रान्ज्याक्सन बैंकिङ सेवाको विस्तारसँगै शुल्क तथा कमिसन आम्दानी १६.६५ प्रतिशतले वृद्धि भई २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ।

ट्रेजरी तथा वैदेशिक मुद्रा कारोबारमा सुधार आएपछि खुद ट्रेडिङ आम्दानी ८९.०५ प्रतिशतले बढेर ६८ करोड १४ लाख रुपैयाँ पुगेको बैंकको विवरणमा उल्लेख छ।

बैंकका अनुसार प्रमुख प्रतिफल सूचकहरूमा पनि सुधार देखिएको छ। पुँजी प्रतिफल (आरओई) ११.५८ प्रतिशत र सम्पत्ति प्रतिफल (आरओए) १.०४ प्रतिशत पुगेको छ। बैंकले वित्तीय अनुशासन, आम्दानीका स्रोतको विविधीकरण तथा डिजिटल बैंकिङ विस्तारका कारण वित्तीय प्रदर्शनमा उल्लेख्य सुधार भएको जनाएको छ।

१९ श्रावण २०८३, मंगलवार ११:२९ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०