चिनियाँ स्टार्टअप लीपमोटरले आफ्नो नयाँ इलेक्ट्रिक ह्याचब्याक ए०५ आगामी अगस्ट १० मा चिनियाँ बजारमा सार्वजनिक गर्ने भएको छ। कम्पनीले जुलाई २७ देखि प्रि–बुकिङ खुला गरिसकेको छ भने औपचारिक बिक्री पनि सोही दिनबाट सुरु हुने जनाएको छ।
ए०५, लीपमोटरको ‘ए’ प्लेटफर्ममा आधारित दोस्रो मोडल हो। यसअघि कम्पनीले ए१० एसयूभी सार्वजनिक गरिसकेको थियो। साथै, ए०५ यही प्लेटफर्ममा बनेको पहिलो कम्प्याक्ट ह्याचब्याक पनि हो।
कम्पनीका अनुसार ए०५ को लम्बाइ ४,२०० एमएम, चौडाइ १,८०० एमएम, उचाइ १,५६० एमएम तथा ह्वीलबेस २,६०५ एमएम रहेको छ। गाडीमा गोसियन हाइटेक र जेनेर्जीद्वारा निर्मित लिथियम आइरन फोस्फेट (एलएफपी) ब्याट्री प्रयोग गरिएको छ।
ए०५ मा ३९.८ किलोवाट आवर र ५३ किलोवाट आवरका दुई ब्याट्री विकल्प उपलब्ध हुनेछन्। कम्पनीका अनुसार यी ब्याट्रीले क्रमशः ४०५ किलोमिटर र ५१० किलोमिटरसम्मको रेन्ज प्रदान गर्नेछन्। साथै, ७० किलोवाट र ९० किलोवाट क्षमताका दुई मोटर विकल्प उपलब्ध हुनेछन्। गाडीको अधिकतम गति प्रतिघण्टा १६० किलोमिटर रहेको छ।
फास्ट चार्जिङ सपोर्ट भएको ए०५ ले १६ मिनेटमै ब्याट्रीको चार्ज ३० प्रतिशतबाट ८० प्रतिशतसम्म पुर्याउन सक्ने कम्पनीको दाबी छ। गाडीमा क्वालेकमको फ्ल्यागसिप स्न्यापड्र्यागन ८२९५ चिप, ८.८८ इन्चको डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र १४.६ इन्चको सेन्ट्रल इन्फोटेनमेन्ट स्क्रिन जडान गरिएको छ।
वैकल्पिक रूपमा उपलब्ध लाइडार प्रविधिले पार्किङदेखि अर्को गन्तव्यसम्म नेभिगेसन सहायता प्राप्त ड्राइभिङ सुविधा प्रदान गर्नेछ। हाल नेपाली बजारमा लीपमोटरका सवारीसाधन बिक्री भइरहेका छन्। चीनमा बिक्री सुरु भएपछि ए०५ पनि नेपाली बजारमा भित्रिने सम्भावना रहेको छ।











