काठमाडौं। चन्द्रागिरि बचत तथा ऋण सहकारी संस्था लिमिटेड (चन्द्रागिरि साकोस) ले डिजिटल वित्तीय सेवा विस्तार, प्रविधिमैत्री सदस्य सेवा तथा डिजिटल वित्तीय समावेशीकरणमा पुर्याएको योगदानका लागि विश्व ऋण परिषद् (World Council of Credit Unions–WOCCU) को प्रतिष्ठित ‘2026 Digital Growth Award’ प्राप्त गरेको छ।
संस्थाले सदस्य सेवामा आधुनिक प्रविधिको प्रभावकारी उपयोग, डिजिटल वित्तीय पहुँच विस्तार तथा नवीन सेवाको विकासमा गरेको योगदानको मूल्याङ्कन गर्दै WOCCU ले उक्त अन्तर्राष्ट्रिय सम्मान प्रदान गरेको जनाएको छ।
अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेसँगै चन्द्रागिरि साकोसले डिजिटल रूपान्तरणको क्षेत्रमा नेपाली सहकारी अभियानलाई नयाँ उचाइमा पुर्याएको जनाएको छ। संस्थाले डिजिटल नवप्रवर्तनमार्फत सदस्यलाई सहज, सुरक्षित र गुणस्तरीय सेवा उपलब्ध गराउँदै आएको उल्लेख गरेको छ।
यस उपलब्धिका लागि संस्थाले विश्व ऋण परिषद् (WOCCU), नेफ्स्कून, एशियाली ऋण महासंघ (ACCU), राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी बैंक, विभिन्न सहकारी संस्था, प्रविधि साझेदार, सञ्चारमाध्यम, सदस्य, सञ्चालक समिति, कर्मचारी तथा शुभेच्छुकप्रति आभार व्यक्त गरेको छ।

यात्रा कार्ड र किसान नेट सेवाको शुभारम्भ
यसै अवसरमा साउन १८ गते आयोजित पत्रकार भेटघाट कार्यक्रममा संस्थाले NFC प्रविधिमा आधारित डिजिटल यात्रा कार्ड र किसान नेट सेवा औपचारिक रूपमा शुभारम्भ गरेको छ।
सदस्यता परिचयपत्र र यात्रा कार्डको दोहोरो सुविधा रहेको डिजिटल यात्रा कार्डमार्फत सार्वजनिक यातायातमा छिटो, सुरक्षित तथा नगदरहित (Cashless) भुक्तानी गर्न सकिने संस्थाले जनाएको छ।
त्यसैगरी, किसान नेट सेवामार्फत सदस्यलाई सहज, भरपर्दो तथा समुदायमैत्री इन्टरनेट सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ।

सदस्यकेन्द्रित डिजिटल सेवा विस्तारमा जोड
चन्द्रागिरि साकोसले आगामी दिनमा पनि डिजिटल प्रविधिमा आधारित सेवा विस्तार गर्दै सदस्यलाई थप आधुनिक, प्रभावकारी र सहज वित्तीय सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
संस्थाका अनुसार डिजिटल रूपान्तरण, वित्तीय समावेशीकरण र प्रविधिमैत्री सेवाको विकासलाई निरन्तर प्राथमिकतामा राख्दै सदस्यको आवश्यकता अनुरूप नवीन सेवा विस्तार गरिनेछ।











