काठमाडौं। विश्व बैंकले विकासशील देशहरूलाई कृत्रिम बुद्धिमत्ता (AI) प्रविधिको प्रयोग तीव्र रूपमा विस्तार गर्न आग्रह गर्दै समयमै एआई नअपनाए आर्थिक र प्राविधिक रूपमा अझ पछाडि पर्ने चेतावनी दिएको छ।
विश्व बैंक समूहले सार्वजनिक गरेको वार्षिक ‘विश्व विकास प्रतिवेदन’ अनुसार एआई विकासशील अर्थतन्त्रका लागि आर्थिक रूपान्तरण, सार्वजनिक सेवा सुधार र उत्पादकत्व वृद्धि गर्ने महत्वपूर्ण अवसर बनेको छ। प्रतिवेदन सार्वजनिक गर्दै विश्व बैंकका प्रमुख अर्थशास्त्री इन्दरमित गिल ले एआईलाई विकासशील राष्ट्रका लागि ‘जीवनरेखा’ जस्तै अवसर भएको उल्लेख गर्दै यसको प्रभावकारी उपयोग गर्न आग्रह गरेका छन्।
महँगो पूर्वाधार बिना पनि एआई प्रयोग सम्भव
प्रतिवेदनमा एआई प्रयोग गर्न विशाल डेटा सेन्टर वा अत्यधिक महँगो पूर्वाधार अनिवार्य नपर्ने उल्लेख गरिएको छ। स्वास्थ्य, शिक्षा, न्याय र कृषि क्षेत्रमा स्थानीय आवश्यकता अनुसार कम लागतका एआई समाधान विकास गरी प्रभावकारी सेवा विस्तार गर्न सकिने विश्व बैंकको भनाइ छ।
विश्व बैंकका अनुसार एआईले दुर्गम तथा सेवाबाट वञ्चित समुदायसम्म गुणस्तरीय स्वास्थ्य सेवा, कानुनी परामर्श, आधुनिक कृषि सूचना तथा शिक्षाको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेल्न सक्छ।
बंगलादेश र भारतको उदाहरण
प्रतिवेदनले बंगलादेशमा एआईमार्फत मधुमेह परीक्षण सेवा विस्तार भएको र भारतमा एआई आधारित मौसम पूर्वानुमानले किसानलाई खेती व्यवस्थापनमा सहयोग पुर्याएको उदाहरण प्रस्तुत गरेको छ। साथै स्मार्टफोन नभएका नागरिकका लागि सामान्य मोबाइलबाट आवाजमार्फत प्रयोग गर्न सकिने एआई प्रणाली विकास गर्न पनि सुझाव दिइएको छ।
चार प्रमुख सुझाव र सम्भावित जोखिम
विश्व बैंकले विकासशील देशलाई स्थानीय आवश्यकता अनुसार एआई समाधान विकास गर्ने, विद्युत् पूर्वाधारमा लगानी बढाउने, कम्प्युटिङ क्षमता र इन्टरनेट पहुँच विस्तार गर्ने तथा स्थानीय तथ्याङ्क प्रणाली सुधार गर्ने सुझाव दिएको छ।
यद्यपि एआईसँगै केही चुनौती पनि रहेको प्रतिवेदनले औँल्याएको छ। रोजगारीमा दीर्घकालीन असर पर्न सक्ने, धनी–गरिबबीचको असमानता बढ्न सक्ने, व्यक्तिगत तथ्याङ्कको गोपनीयतामा जोखिम उत्पन्न हुन सक्ने तथा विशाल डेटा सेन्टरका कारण ऊर्जा र पानीको अत्यधिक खपत भई जलवायु परिवर्तनमा असर पर्न सक्ने चेतावनी विश्व बैंकले दिएको छ। विश्व बैंकका अनुसार यो प्रतिवेदन तयार पार्ने क्रममा OpenAI, DeepSeek, Google र Anthropic का एआई उपकरणको समेत सहयोग लिइएको थियो।











