काठमाडौं। ग्लोबल आइएमई बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गर्दै खुद नाफा, सञ्चालन नाफा तथा वितरणयोग्य नाफामा उल्लेखनीय सुधार भएको जनाएको छ।
सार्वजनिक विवरणअनुसार बैंकको खुद नाफा २२.६७ प्रतिशतले वृद्धि भई ६ अर्ब २२ करोड ७१ लाख रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले ५ अर्ब ७ करोड ६३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।
सञ्चालन नाफामा २० प्रतिशत वृद्धि
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २.८६ प्रतिशतले घटेर १६ अर्ब २० करोड ३० लाख रुपैयाँ मा सीमित भए पनि सञ्चालन आम्दानी र सञ्चालन नाफामा सुधार देखिएको छ।बैंकको सञ्चालन आम्दानी २.६१ प्रतिशतले बढेर २१ अर्ब ८० करोड ३९ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन नाफा २० प्रतिशतले वृद्धि भएर ८ अर्ब ६८ करोड २१ लाख रुपैयाँ पुगेको छ।
लाभांश क्षमतामा सुधार
बैंकको वितरणयोग्य नाफा ४ अर्ब ५८ करोड १० लाख रुपैयाँ पुगेको छ। यसका आधारमा बैंकको प्रतिशेयर लाभांश क्षमता १२ रुपैयाँ ०२ पैसा कायम भएको छ।त्यस्तै, प्रतिशेयर आम्दानी (EPS) १६ रुपैयाँ ३४ पैसा र प्रतिशेयर नेटवर्थ १८३ रुपैयाँ १४ पैसा रहेको छ।
निक्षेप ६.६९ खर्ब, कर्जा ४.३९ खर्ब
आर्थिक वर्षको अन्त्यसम्म बैंकले ६ खर्ब ६९ अर्ब १७ करोड १४ लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ४ खर्ब ३९ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरेको जनाएको छ।बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ पुगेको छ भने जगेडा कोष २७ अर्ब १० करोड ९३ लाख रुपैयाँ रहेको छ।
यद्यपि, समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा (NPL) ४.८६ प्रतिशतबाट बढेर ४.९६ प्रतिशत पुगेको छ, जसलाई आगामी दिनमा व्यवस्थापन गर्नुपर्ने चुनौतीका रूपमा हेरिएको छ। समग्रमा, खुद नाफा, सञ्चालन नाफा र वितरणयोग्य नाफामा भएको वृद्धिले बैंकको वित्तीय अवस्था सुदृढ बन्दै गएको संकेत गरेको छ।











