२० श्रावण २०८३, बुधबार
Follow us :

पुराना ईभी किन्न अब एनएमबी बैंकको रिफाइनान्स सुविधा

नेपालमा पहिलोपटक एनएमबी बैंकले पुराना ईभी खरिदमा कर्जा सुरु गरेको छ। ५ वर्षसम्म ऋण, ३५ लाखसम्म कर्जा र कडा मापदण्ड लागू गरिनेछ।

कान्तिपुर प्रेस

नेपालमा विद्युतीय सवारी साधन (ईभी)को प्रयोग तीव्र रूपमा बढ्दै गए पनि रिकण्डिसन ईभीको बजार भने अपेक्षाअनुसार विस्तार हुन सकेको छैन। नयाँ ईभी खरिदका लागि बैंक तथा वित्तीय संस्थाबाट सहज रूपमा कर्जा पाइरहे पनि पुराना ईभीमा लगानी नहुँदा बजार सुस्त बनेको हो।

यही अवस्थालाई मध्यनजर गर्दै एनएमबी बैंकले पहिलोपटक रिकण्डिसन ईभी खरिदका लागि रिफाइनान्स सुविधा सुरु गरेको छ। बैंकका बिजनेस प्लानिङ म्यानेजर सुजन ढुंगानाका अनुसार बजारमा बढ्दो माग र ईभी प्रयोगकर्ताको आवश्यकतालाई सम्बोधन गर्न यस्तो सुविधा ल्याइएको हो। राष्ट्र बैंकको निर्देशिकाले रोक नलगाएकाले सञ्चालक समितिको निर्णयपछि कर्जा प्रवाह सुरु गरिएको उनले बताए।

बैंकले पुराना ईभी खरिदका लागि अधिकतम ५ वर्षसम्म कर्जा उपलब्ध गराउनेछ। कर्जाको अवधि ब्याट्री र मोटरको बाँकी वारेन्टीका आधारमा निर्धारण हुनेछ। साथै, ब्याट्रीको हेल्थ कम्तीमा ८० प्रतिशत, उत्पादन भएको १० वर्ष ननाघेको सवारी र आधिकारिक सर्भिस सेन्टरबाट प्रमाणित कागजात अनिवार्य गरिएको छ।

एनएमबीले आधिकारिक रिकण्डिसन हाउसले गरेको मूल्यांकनको ५५ प्रतिशतसम्म कर्जा दिने व्यवस्था गरेको छ। हाल अधिकतम ३५ लाख रुपैयाँसम्म कर्जा उपलब्ध हुने भए पनि ग्राहकको क्रेडिट प्रोफाइलअनुसार ६० लाख रुपैयाँसम्म कर्जा पाउन सकिने बैंकले जनाएको छ। कर्जाको ब्याजदर बेसरेटमा ०.७५ प्रतिशतदेखि २.५ प्रतिशतसम्म प्रिमियम थपेर निर्धारण गरिनेछ। बैंकको यो पहलले नेपालमा रिकण्डिसन ईभी बजार विस्तार, हरित यातायात प्रवर्द्धन तथा वातावरण संरक्षणमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।

 

२० श्रावण २०८३, बुधबार १३:०३ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०