सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेड (SMB) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १८१.३६ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्ष कम्पनीले ७ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद नाफा २ करोड ७० लाख रुपैयाँ रहेको थियो। कम्पनीका अनुसार खुद ब्याज आम्दानी बढ्नुका साथै इम्पेरमेन्ट चार्ज रिभर्स भएकाले नाफामा उल्लेख्य सुधार भएको हो। समीक्षा अवधिमा खुद ब्याज आम्दानी ३५.५५ प्रतिशतले बढेको छ भने कुल सञ्चालन आम्दानी ३४.८५ प्रतिशत र सञ्चालन मुनाफा १३४.२५ प्रतिशतले वृद्धि भएको छ।
गत आर्थिक वर्षको असार मसान्तसम्म कम्पनीले १ करोड २ लाख रुपैयाँ इम्पेरमेन्ट चार्ज रिभर्स गरेको छ। यस अवधिसम्म कम्पनीको वितरणयोग्य मुनाफा ६ करोड ७० लाख रुपैयाँ पुगेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी ५० रुपैयाँ ३ पैसा रहेको छ।
नाफा वृद्धिसँगै प्रतिशेयर आम्दानी (EPS) पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा प्रतिशेयर आम्दानी ३४ रुपैयाँ ७१ पैसाले बढेर ५६ रुपैयाँ ८२ पैसा पुगेको छ।असार मसान्तसम्म कम्पनीको मूल्य–आम्दानी अनुपात (P/E Ratio) ३२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ २०५ रुपैयाँ १३ पैसा पुगेको छ। १३ करोड ४० लाख रुपैयाँ चुक्ता पूँजी रहेको कम्पनीको जगेडा कोषमा समीक्षा अवधिसम्म १४ करोड ९ लाख रुपैयाँ सञ्चित रहेको वित्तीय विवरणमा उल्लेख छ।












