हेटौँडा सिमेन्ट उद्योगका कर्मचारीले १४ महिनादेखि तलब पाउन सकेका छैनन्। उद्योग लामो समयदेखि बन्द हुँदा नियमित पारिश्रमिकसँगै कर्मचारीले सञ्चय कोष, नागरिक लगानी कोष, बिमा तथा अवकाशपछिको उपदानसमेत पाउन सकेका छैनन्।
उद्योग प्रशासनका अनुसार स्थायी कर्मचारीको तलब तथा सुविधाबापत मात्रै १२ करोड ३० लाख रुपियाँ भुक्तानी गर्न बाँकी छ। त्यस्तै दक्ष तथा अदक्ष श्रमिकको ज्यालाबापत एक करोड ५३ लाख दुई सय १५ रुपियाँ, सुरक्षा सेवाबापत एक करोड ८४ लाख २५ हजार र अतिरिक्त कार्य समयबापत ७२ लाख ४८ हजार सात सय २० रुपियाँ भुक्तानी हुन बाँकी रहेको छ।
यसैगरी सामूहिक सावधिक जीवन बिमाबापत एक करोड ८६ लाख, सञ्चय कोष कट्टी दायित्व एक करोड ७२ लाख ९३ हजार, नागरिक लगानी कोष ३७ लाख ५३ हजार, अवकाशप्राप्त कर्मचारीको उपदान चार करोड ९० लाख र तलब कट्टी दायित्व ६३ लाख २५ हजार रुपियाँ पुगेको उद्योगले जनाएको छ।
लामो समयदेखि पारिश्रमिक नपाउँदा उद्योगमा कार्यरत कर्मचारीको दैनिक जीवन प्रभावित भएको छ। स्थायी जागिरलाई परिवारको आर्थिक सुरक्षाको आधार बनाएका कर्मचारी अहिले ऋणको किस्ता, घरखर्च तथा छोराछोरीको शिक्षासमेत धान्न नसक्ने अवस्थामा पुगेका छन्।
उद्योगका निमित्त महाप्रबन्धक भक्तिराम श्रेष्ठका अनुसार हेटौँडा सिमेन्ट उद्योग करिब तीन वर्षदेखि सञ्चालनमा छैन। पछिल्लो समय चालु पुँजीको अभाव भएपछि उद्योग पूर्ण रूपमा बन्द भएको उहाँले बताउनुभयो।
उद्योग सञ्चालनका लागि आवश्यक कोइला र जिप्सम ढुङ्गा खरिद गर्नसमेत रकम अभाव रहेको श्रेष्ठको भनाइ छ। कर्जा सुविधाका लागि नेपाल सरकार, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग पटकपटक अनुरोध गरिए पनि अहिलेसम्म ठोस निर्णय हुन नसकेको उहाँले बताउनुभयो।
उद्योग लामो समयसम्म बन्द रहँदा एकातर्फ कर्मचारीको पारिश्रमिक तथा सुविधा भुक्तानी हुन सकेको छैन भने अर्कोतर्फ उद्योगको आर्थिक दायित्वसमेत निरन्तर बढ्दै गएको छ। अब उद्योग सञ्चालन, कर्मचारीको बक्यौता भुक्तानी र दीर्घकालीन व्यवस्थापनका विषयमा सरकारले ठोस निर्णय लिनुपर्ने देखिएको छ।












