ललितपुर, १४ भदौ: गोदावरी नगरपालिका–१० स्थित चापागाउँ च्याउ उत्पादन सेवा सहकारी संस्था लिमिटेडको २५औँ स्थापना दिवस तथा २४औँ वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ।
च्याउ खेतीमा संलग्न कृषकलाई संगठित गर्दै शेयर संकलन, बचत तथा ऋणको कारोबार सञ्चालन गर्दै आएको सहकारीले संस्थाका ज्येष्ठ सदस्य पशुपति दाहालको प्रमुख आतिथ्यतामा स्थापनाको २५ वर्ष पूरा गरेको अवसरमा स्थापना दिवस तथा साधारणसभा आयोजना गरेको हो।
कार्यक्रममा जिल्ला कृषि सहकारी संघका अध्यक्ष चित्रराज तिमल्सिनाले चापागाउँ च्याउ उत्पादन सेवा सहकारीले २५ वर्षसम्म निरन्तरता पाउनु आफैँमा महत्वपूर्ण उपलब्धि भएको बताउँदै संस्थाको आगामी यात्रा अझ सफल रहोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो। उहाँले नयाँ सञ्चालक समितिले जोश र जाँगरका साथ संस्थालाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
संस्थाका अध्यक्ष श्यामकृष्ण सापकोटाले च्याउ खेती गर्ने कृषकलाई एकताबद्ध गर्दै सहकारी सञ्चालन हुँदै आएको बताउनुभयो। उहाँले शेयर सदस्यको आवश्यकता र सुझावलाई ध्यानमा राख्दै संस्थाको नीति तथा कार्यक्रम अघि बढाइने जानकारी दिनुभयो।
अध्यक्ष सापकोटाले प्रस्तुत गर्नुभएको प्रतिवेदन अनुसार संस्थाले २०८३ असार मसान्तसम्म ५ सय ३५ जना शेयर सदस्यहरुबाट १ करोड २६ लाख ६३ हजार ९ सय रुपैयाँ शेयर शेयर पूँजी संकलन गरेको छ। संस्थाले यस अवधिमा ६ करोड ९७ लाख ९६ हजार १ सय २८ रुपैयाँ कूल कारोबार गरी ७९ लाख २६ हजार ३६ रुपैयाँ संस्थागत पूँजीकोष कायम गर्न सफल भएको छ ।
कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै सञ्चालक केशव सापकोटाले संस्थाले सात प्रकारका बचत सेवा सञ्चालन गर्दै आएको जानकारी दिँदै हालसम्म रु. ५ करोड ८५ लाख ५१ हजार ऋण लगानी गरेको प्रतिवेदन प्रस्तुत गर्नुभयो।
लेखा तथा सुपरिवेक्षण समितिका संयोजक सरस्वती फूँयाल दुलालले संस्थाको वित्तीय अनुशासन तथा कारोबारलाई थप व्यवस्थित बनाउनुपर्नेमा जोड दिनुभयो। साधारणसभाका अवसरमा उच्च शिक्षा हासिल गर्ने शेयर सदस्यका छोराछोरी, असल कारोबार गर्ने शेयर सदस्य तथा संस्थाका पूर्वसञ्चालकलाई सम्मान गरिएको थियो।
कार्यक्रममा कञ्चन माध्यमिक विद्यालयका प्रधानाध्यापक नवराज महतले सहकारीले राम्रो काम र अभ्यासको सुरुवात गरेको उल्लेख गर्दै सहकारी अभियानको साख जोगाउने दर्बिलो र बलियो संस्था बन्ने अवसर प्राप्त होस् भन्ने शुभकामना दिनुभयो।
जिल्ला सहकारी संघ ललितपुरका पूर्वकोषाध्यक्ष रुपेश तिमल्सिनाले सहकारीले बचत तथा ऋण कारोबारको इजाजतपत्र प्राप्त गरिसकेको अवस्थामा आगामी दिनमा उत्कृष्ट कारोबार गर्ने विश्वास व्यक्त गर्नुभयो।
पुष्पाञ्जली बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नवराज घिमिरेले पेशागत किसान तथा श्रमिकको समेत संलग्नता रहेको संस्थाले आगामी दिनमा उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
संस्थाका पूर्वअध्यक्ष चिरीकाजी देसारले आफ्नो कार्यकालको अनुभव सुनाउँदै आगामी चार वर्षमा नयाँ समितिले संस्थागत उत्कृष्टता हासिल गर्ने विश्वास व्यक्त गर्नुभयो।
साधारणसभाले श्यामकृष्ण सापकोटाको अध्यक्षतामा नयाँ सञ्चालक समिति चयन गरेको छ। समितिको उपाध्यक्षमा निर्मला रिजाल, सचिवमा कमला हुमागाईँ र कोषाध्यक्षमा केशव सञ्जेल चयन हुनुभएको छ। सदस्यमा बिन्दा तिमल्सिना, चण्डिका लम्साल, सविता दुलाल तिमल्सिना, विश्वनाथ तिमल्सिना र सविना न्यौपाने घिमिरे चयन हुनुभएको छ।
त्यस्तै, लेखा तथा सुपरिवेक्षण समितिको संयोजकमा सरस्वती फूँयाल दुलाल तथा सदस्यमा ज्ञानबहादुर खड्का र कमला घिमिरे दाहाल चयन हुनुभएको छ।
नवनिर्वाचित अध्यक्ष श्यामकृष्ण सापकोटाले सबैको सल्लाह, सुझाव र सहकार्यमा संस्थालाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले च्याउ खेतीमा संलग्न कृषक तथा शेयर सदस्यको आर्थिक तथा व्यावसायिक हितलाई प्राथमिकतामा राखेर सहकारीको संस्थागत विकासमा जोड दिने बताउनुभयो।
निर्वाचन समितिका संयोजक एकप्रसाद बजगाईँले संस्थाले तय गरेको नीतिगत व्यवस्था अनुसार मापदण्ड अनुसार तयार गरी निर्वाचन प्रक्रिया सम्पन्न भएको जानकारी दिनुभयो।—












