काठमाडौं, भदौ १५ । नेपालमा बैंक तथा वित्तीय संस्थाको पहुँच विस्तार हुँदै गएको देखिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप खाता संख्या ५ करोड ३४ लाख २५ हजार २ सय ६ पुगेको छ।
यो संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४१ लाख ९६ हजार ९ सय २९ अर्थात् ८.५५ प्रतिशतले बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थामा कुल ४ करोड ९२ लाख २८ हजार २ सय ७७ निक्षेप खाता सञ्चालनमा थिए।
गत आर्थिक वर्षमा वाणिज्य बैंकमा मात्रै ५ करोड ४४ लाख ५९ हजार ५ सय ३९ वटा निक्षेप खाता सञ्चालनमा रहेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ। त्यस्तै विकास बैंकमा ७८ लाख ८३ हजार ६ सय ७२ र वित्त कम्पनीमा १० लाख ९२ हजार ८ सय ५ वटा निक्षेप खाता रहेका छन्।
अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकमा ५ करोड ९ लाख ८६ हजार १ सय ७१, विकास बैंकमा ७४ लाख ५३ हजार ३ सय ४७ र वित्त कम्पनीमा ९ लाख ६७ हजार ८ सय ५९ वटा निक्षेप खाता सञ्चालनमा थिए।
निक्षेप खातासँगै बैंकिङ क्षेत्रमा कर्जा खाताको संख्या पनि बढेको छ। राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा बैंक तथा वित्तीय संस्थामा कुल २० लाख ३१ हजार ५ सय ३४ वटा कर्जा खाता सञ्चालनमा रहेका छन्। अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या १९ लाख ६६ हजार ५ सय ५८ थियो।
एक वर्षमा कर्जा खाताको संख्या ६४ हजार ९ सय ७६ ले बढेको हो। गत आर्थिक वर्षमा वाणिज्य बैंकमा १७ लाख ९ हजार ९ सय ३४, विकास बैंकमा २ लाख ६१ हजार ४ सय ४७ र वित्त कम्पनीमा ६८ हजार ९ सय ८३ वटा कर्जा खाता सञ्चालनमा थिए।
अघिल्लो आर्थिक वर्षमा वाणिज्य बैंकमा १६ लाख ४४ हजार ५ सय ४५, विकास बैंकमा २ लाख ७१ हजार २७ र वित्त कम्पनीमा ५० हजार ९ सय ८६ वटा कर्जा खाता रहेका थिए।
निक्षेप र कर्जा खाताको तथ्यांकले समग्र बैंकिङ क्षेत्रमा वित्तीय पहुँच विस्तार हुँदै गएको संकेत गरेको छ। यद्यपि, विकास बैंकमा कर्जा खाताको संख्या अघिल्लो वर्षको तुलनामा घटेको देखिएको छ भने वाणिज्य बैंक तथा वित्त कम्पनीमा कर्जा खाताको संख्या बढेको छ।
राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थामा निक्षेप तथा कर्जा खाता विस्तार हुनु डिजिटल बैंकिङ, वित्तीय सेवा पहुँच र औपचारिक वित्तीय प्रणालीमा नागरिकको सहभागिता बढ्दै गएको अवस्थासँग जोडिएको छ।











