१७ भाद्र २०८३, बुधबार
Follow us :

बाढीपीडितको बीमा दाबी तत्काल भुक्तानी गर्न अर्थमन्त्रीको निर्देशन

कान्तिपुर प्रेस

काठमाडौँ, भदौ १७ गते । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बाढी प्रभावित क्षेत्रका पीडितको बीमा दाबी भुक्तानी प्रक्रिया सरल, सहज र छिटो बनाउन निर्देशन दिनुभएको छ।भदौ १० गते रसुवामा आएको विनाशकारी बाढीबाट भएको क्षति तथा त्यसपछिको बीमा दाबीको अवस्था र भुक्तानी प्रक्रियाबारे नेपाल बीमा प्राधिकरणको आयोजनामा अर्थ मन्त्रालयमा भएको उच्चस्तरीय छलफलमा अर्थमन्त्री वाग्लेले यस्तो निर्देशन दिनुभएको हो।

बाढीका कारण देश शोकमा रहेको भन्दै उहाँले विपद्को यस कठिन अवस्थामा सबै पक्ष मिलेर पीडितलाई राहत दिनुपर्ने बताउनुभयो। बीमा कम्पनीहरूले क्षतिमा मलम लगाउने गरी दाबी भुक्तानीलाई सहज बनाउनुपर्ने उहाँको भनाइ थियो।

“बाढीका कारण देश शोकमा छ। यो कठिन अवस्थामा सबै जना हातेमालो गरौँ। पीडितको क्षतिमा बीमा कम्पनीहरूले मलम लगाऔँ,” अर्थमन्त्री वाग्लेले भन्नुभयो, “दाबी भुक्तानीलाई सहज र सरल बनाऔँ। बीमा कम्पनीहरूलाई कुनै समस्या भयो र सरकारले केही गर्नुपर्ने अवस्था आयो भने भन्नुहोला, हामी सहयोग गर्न तयार छौँ।”

ठूला दाबीलाई प्राथमिकता, साना दाबीमा छिटो भुक्तानी

बैठकले ठूला तथा प्रारम्भिक क्षतिको बीमा दाबी भुक्तानीलाई उच्च प्राथमिकतामा राख्दै प्रक्रिया सहज बनाउने निर्णय गरेको छ। कागजी प्रक्रियाका कारण दाबी भुक्तानीमा अनावश्यक ढिलाइ हुन नदिन कार्यविधिमा सहजीकरण गर्ने र साना दाबीका लागि द्रुत भुक्तानी प्रणाली अपनाउने निर्णय भएको छ।

जलविद्युत् आयोजना तथा ठूला पूर्वाधारमा भएको क्षतिको पूर्ण मूल्याङ्कन गर्न समय लाग्ने भएकाले बिमितको नगद प्रवाह सहज बनाउन तत्काल उचित रकम पेस्कीस्वरूप उपलब्ध गराउने व्यवस्था मिलाइने भएको छ।

स्वचालित प्रणालीबाट सर्भेयर परिचालन

सर्भेयर परिचालनलाई थप चुस्त र पारदर्शी बनाउन नेपाल बीमा प्राधिकरणले ब्ल्याक्वेट सहमतिमार्फत प्रणालीबाट स्वचालित रूपमा सर्भेयर खटाउने व्यवस्था मिलाउने भएको छ।त्यस्तै, बीमा दाबी भुक्तानीको नियमित दैनिक अनुगमन तथा सहजीकरण गर्न नेपाल बीमा प्राधिकरणमा विशेष कार्यदल गठन गर्ने निर्णयसमेत भएको छ।

बैठकमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष, सञ्चालक तथा कार्यकारी निर्देशकसहित विभिन्न बीमा तथा पुनर्बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत र सर्भेयर सङ्घका पदाधिकारीको सहभागिता थियो।

१७ भाद्र २०८३, बुधबार ०७:१४ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०