२ आश्विन २०८३, शुक्रबार
Follow us :

बंशजको नागरिकता कायमै राखेर नेपाल फर्कने वातावरण बनाउनुपर्नेमा गैरआवासीय नेपालीहरुको जोड

कान्तिपुर प्रेस

ललितपुर, २ असोज : बंशजको नागरिकता कायमै राखेर नेपाल फर्कने वातावरण सुनिश्चित हुनुपर्नेमा गैरआवासीय नेपालीहरुले जोड दिएका छन् ।

विहिबार ललितपुरको बंगालामुखीमा कोणसभा गर्दै गैर आवासीय नेपालीहरुले विदेशमा रहेका नेपालीलाई नेपाल फर्कने वातावरण निर्माण गरी उनीहरूले विदेशमा हासिल गरेको सीप, ज्ञान, अनुभव र पूँजीलाई देशको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिइएका हुन् ।

बेलायत र अमेरिकामा बसोबास गर्दै आउनुभएका डाक्टर शम्भु पोखरेलले देशका नीति निर्माताको कमजोरीका कारण नेपालीले विदेशमा दुःख पाउनुपरेको बताउनुभयो। उहाँले गैरआवासीय नेपालीलाई देशको हितमा उपयोग गर्दै नेपाल फर्कन चाहनेका लागि वातावरण बनाउनुपर्नेमा जोड दिनुभयो।

‘एकपटकको नेपाली सधैँको नेपाली’को भावना व्यवहारमा लागू गर्दै गैरआवासीय नेपालीप्रति विभेद अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो। उहाँले पर्याप्त रोजगारी र अवसरको अभाव तथा सुशासनको कमीका कारण ठूलो संख्यामा नेपाली विदेशिन बाध्य भएको उल्लेख गर्दै अब नेपालमै फर्केर योगदान गर्न चाहनेहरूका लागि सहज वातावरण बनाउनुपर्ने बताउनुभयो।

बेलायतमा बसोबास गर्दै आउनुभएका योगेन्द्र क्षेत्रीले देशमा पर्याप्त अवसर र रोजगारीको अवस्था नहुँदा लाखौँ नेपाली विदेशिन बाध्य भएको बताउनुभयो। विदेशमा हासिल गरेको सीप, शिक्षा र अनुभव नेपालमै प्रयोग गर्न आफूहरू इच्छुक रहेको उहाँको भनाइ थियो।

उहाँले भन्नुभयो, “हामी विदेशमा रहरले गएका होइनौँ, बाध्यताले गएका हौँ। अब विदेशमा सिकेको सीप र अनुभव लिएर नेपालमै केही गर्न चाहन्छौँ।”

क्षेत्रीले नागरिकलाई अवसरबाट वञ्चित गरेर सुशासन कायम हुन नसक्ने बताउँदै नेपालको सभ्यता र संस्कृतिसँग जोडिएका गैरआवासीय नेपालीलाई नेपाल फर्कन सहज वातावरण आवश्यक रहेको उल्लेख गर्नुभयो। नेपाल आउँदा भिसा लिनुपर्ने तथा लगानी गर्दा विदेशीसरहको व्यवस्था हुँदा समस्या सिर्जना भएको भन्दै नेपालको समृद्धि र विकासमा योगदान गर्न चाहने गैरआवासीय नेपालीलाई विभेद गर्न नहुने उहाँको भनाइ थियो।

पूर्वसचिव डाक्टर दीपेन्द्र काफ्लेले नागरिकता ऐन संशोधन गरी विभेद हटाउनुपर्ने बताउनुभयो। उहाँले गैरआवासीय नेपालीलाई वंशजको नागरिकताको निरन्तरता सुनिश्चित गर्नुपर्नेमा जोड दिनुभयो।

क्यानाडामा १५ वर्षदेखि बस्दै आउनुभएका डाक्टर मित्र काफ्लेले जन्मसिद्ध अधिकार खोसिन नहुने बताउनुभयो। उहाँले विदेशमा रहेका नेपालीको संख्या ठूलो रहेको उल्लेख गर्दै उनीहरूको ज्ञान, सीप र पूँजीलाई नेपाल निर्माणमा उपयोग गर्नुपर्ने धारणा राख्नुभयो।

अधिवक्ता रञ्जन खनालले विदेशमा रहेका वंशजका नेपालीको नागरिकताको विषयलाई अभियानका रूपमा अघि बढाउनुपर्ने बताउनुभयो। उहाँले वंशजको नागरिकतालाई निरन्तरता दिने गरी कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिँदै विदेशमा रहेका नेपालीलाई नेपालसँग जोड्ने वातावरण निर्माण गर्नुपर्ने बताउनुभयो।

वक्ताहरूले विदेशमा रहेका नेपालीले नेपाल फर्केर सीप, विज्ञता, लगानी तथा अनुभवमार्फत देशको समृद्धि र विकासमा योगदान गर्न सक्ने भएकाले राज्यले उनीहरूलाई आकर्षित गर्ने नीति तथा कानुनी वातावरण निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

२ आश्विन २०८३, शुक्रबार १२:३० मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०