११ असोज, काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई भेट्न राष्ट्रिय मानव अधिकार आयोगको टोली काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकु पुगेको छ। गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले जबरालाई महाराजगञ्जस्थित निवासबाट नियन्त्रणमा लिएर टेकुस्थित कार्यालयमा ल्याएको थियो। प्रहरीका अनुसार उनलाई सुरक्षा चुनौती देखिएपछि सुरक्षित स्थानमा राखिएको हो। अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले जबरालाई सुरक्षा थ्रेटका कारण कार्यालयमा ल्याइएको बताएका छन्।
जबरालाई भेट्न पुगेको मानव अधिकार आयोगको टोलीलाई कार्यालयका सुरक्षाकर्मीले केही समय गेटमै रोकेको बताइएको छ। आयोगको टोलीले जबराको अवस्थाबारे जानकारी लिन तथा उनको मानव अधिकारको अवस्थाका विषयमा अनुगमन गर्न खोजेको हो।
जबरालाई नियन्त्रणमा लिँदा प्रहरीले अदालतबाट पक्राउ पुर्जी नलिएको सम्बद्ध स्रोतले जनाएको छ। साथै, उनीविरुद्ध कुनै मुद्दा अघि बढाउने योजना नरहेको प्रहरी अधिकारीले बताएका छन्। पूर्वप्रधानन्यायाधीशजस्तो उच्च पदमा रहिसकेका व्यक्तिलाई नियन्त्रणमा लिने क्रममा प्रहरीले अपनाएको शैलीप्रति प्रश्न उठेका छन्। जबरालाई कुन कसुर र कानुनी आधारमा पक्राउ गरिएको हो भन्ने विषयमा प्रहरीले हालसम्म स्पष्ट औपचारिक विवरण सार्वजनिक गरेको छैन।
यसअघि जबराविरुद्ध संसद्मा दर्ता भएको महाभियोग प्रस्तावसम्बन्धी विवादमा सर्वोच्च अदालतको संवैधानिक इजलासले महाभियोग प्रस्तावको औचित्य समाप्त भएको ठहर गर्दै रिट खारेज गरेको थियो।












