काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान सरकार प्रतिशोधात्मक, स्वेच्छाचारी र अधिनायकवादी शैलीमा अघि बढिरहेको आरोप लगाएका छन् । सरकार गठनपछि लोकतान्त्रिक मूल्य, संवैधानिक व्यवस्था र कानुनी प्रक्रियाको पालना गर्ने विषयमा गम्भीर समस्या देखिएको उनको दाबी छ ।
सोमबार राष्ट्रिय कार्यकर्ता भेलाको तयारीबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै पोखरेलले सरकारका पछिल्ला गतिविधिले लोकतान्त्रिक अभ्यास र नागरिक स्वतन्त्रतामाथि प्रश्न उठाएको बताए ।
उनले फागुन २१ गतेको निर्वाचन असामान्य परिस्थितिमा सम्पन्न भए पनि जनताले दिएको जनादेशलाई एमालेले सम्मान गरेको उल्लेख गरे । तर, सरकार गठनपछि राजनीतिक प्रतिशोधका आधारमा एमाले अध्यक्ष र निवर्तमान गृहमन्त्रीलाई पक्राउ गरिएको उनको आरोप छ ।
‘विना तथ्य र प्रमाण आग्रहका आधारमा पार्टी अध्यक्षलाई गिरफ्तार गर्ने, निवर्तमान गृहमन्त्रीलाई गिरफ्तार गर्ने तर १३–१३ दिन राखेर पनि अभियोजन गर्न नसक्ने अवस्था छ,’ उनले भने ।
उनले विगतका घटनामा गोली चल्दा मानवीय क्षति भएको जिम्मेवारी तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले लिनुपर्ने तर्क गर्ने हो भने वर्तमान प्रधानमन्त्री र गृहमन्त्री पनि जवाफदेहिताबाट उम्किन नमिल्ने टिप्पणी गरे ।
पोखरेलले सरकारका गतिविधिले विद्यार्थी आन्दोलन, ट्रेड युनियन र सञ्चार क्षेत्रको स्वतन्त्रतामाथि समेत अंकुश लगाउन खोजिएको आरोप लगाए । विद्यार्थीलाई कलेजमा गतिविधि गर्न रोक लगाउने, ट्रेड युनियनमाथि प्रतिबन्ध लगाउने तथा निजी सञ्चारमाध्यमलाई सरकारी विज्ञापन नदिने निर्णय लोकतान्त्रिक मान्यताविपरीत रहेको उनको भनाइ थियो ।
राज्यका विभिन्न निकायलाई कार्यकारीको मातहतमा ल्याएर आतंकित पार्ने प्रयास भइरहेको आरोप लगाउँदै उनले इनम सापकोटा प्रकरणलाई उदाहरणका रूपमा प्रस्तुत गरे । उक्त घटनाको अनुसन्धान प्रक्रिया पारदर्शी नभएको उनको टिप्पणी थियो ।
प्रधानमन्त्रीका सल्लाहकारले प्रहरी नियन्त्रणमा रहेको मोबाइल दुईदेखि तीन दिनसम्म राखेको विषय बाहिर आएको उल्लेख गर्दै पोखरेलले सरकारको कार्यशैलीमाथि प्रश्न उठाए ।
प्रधानमन्त्री संसद्प्रति उत्तरदायी नभएको आरोप पनि उनले लगाए । संसद्, संसदीय दल र आफ्नै पार्टीका बैठकमा समेत प्रधानमन्त्रीको उपस्थिति तथा सक्रियता नदेखिएको उनको दाबी थियो ।
‘प्रधानमन्त्री संसद्मा जानुहुन्न । संसदीय नियमावलीका प्रबन्धलाई अवहेलना गरिराख्नुभएको छ । दलको नेता हुनुहुन्छ, दलको बैठकको अध्यक्षता गर्नुहुन्न । राजनीतिक दलहरूसँग संवाद गर्नुहुन्न,’ उनले भने ।
यसैबीच, एमालेले निर्वाचनमा व्यहोरेको परिणामको समीक्षा गर्न सचिवालय बैठकबाट कार्यदल गठन गरी कार्यकर्ताका सुझाव संकलन गरेको जानकारी उनले दिए । उनका अनुसार कार्यदलले ४० वटा सुझाव समेटेर सर्वसम्मत प्रतिवेदन तयार गरेको छ ।
राष्ट्रिय कार्यकर्ता भेलाको मुख्य उद्देश्य पार्टीलाई पुनः जनतामाझ स्थापित गर्नुका साथै वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा एकताबद्ध बनाउनु रहेको पोखरेलले बताए ।
स्थानीय तह निर्वाचनको तयारीबारे बोल्दै उनले स्थानीय सरकारलाई बलियो बनाउन एमालेले सुरुदेखि नै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको दाबी गरे । नयाँ राजनीतिक दलहरू पनि प्रदेश र स्थानीय तहको निर्वाचनमा सहभागी हुन तयार हुनु सकारात्मक भएको उनको भनाइ थियो ।
‘नेपालमा स्थानीय तह बलियो बनाउने कुराको फाउन्डर नै नेकपा एमाले हो । स्थानीय चुनावको तयारी पनि राष्ट्रिय कार्यकर्ता भेलाको एउटा महत्त्वपूर्ण उद्देश्य हो,’ उनले भने ।
प्रधानमन्त्रीको कार्यशैली लोकतान्त्रिक नभएको टिप्पणी गर्दै पोखरेलले विपक्षी दलसँग संवादको अपेक्षा नरहेको बताए । उनले प्रधानमन्त्रीको कार्यशैलीलाई स्वेच्छाचारी र अधिनायकवादीको संज्ञासमेत दिए ।











