१ मंसिर २०८३, मंगलवार
Follow us :

कांग्रेस सभापति थापाद्वारा प्रदीप गिरि फेलोसिप उद्घाटन, तीन विधामा आवेदन खुला

अनुसन्धान तथा लेखन, कानुनी सहायता र निबन्ध पुरस्कारमार्फत नयाँ पुस्तालाई सार्वजनिक बहसमा जोड्ने लक्ष्य, महिला र सीमान्तकृत समुदायका आवेदकलाई प्राथमिकता

कान्तिपुर प्रेस

वीरगञ्ज । नेपाली कांग्रेसका सभापति गगन थापाले समावेशिता र संघीयताको कार्यान्वयनपछि मुलुकको लोकतन्त्र थप बलियो भएको बताएका छन् । नेपाली कांग्रेसका दिवंगत नेता प्रदीप गिरिको विचार, दर्शन र राजनीतिक योगदानलाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले सुरु गरिएको ‘प्रदीप गिरि फेलोसिप’ उद्घाटन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।

सभापति थापाले प्रदीप गिरिका लेख, रचना र विचारले समावेशिता तथा संघीयतामार्फत मुलुक र लोकतन्त्रलाई बलियो बनाउनुपर्ने दृष्टिकोण प्रस्तुत गरेको बताए ।

‘स्व. गिरिका विचार, लेख तथा दर्शनहरू अध्ययन गर्दा समावेशिता र संघीयता लागू भए मुलुक र प्रजातन्त्र बलियो हुन्छ भन्ने सोच रहेको बुझ्न सकिन्छ,’ उनले भने ।

उनले मधेस आन्दोलनपछि संघीयता आएको भन्ने बुझाइ रहे पनि प्रदीप गिरिले त्यसअघि नै समावेशिता र संघीयताले मुलुक, लोकतन्त्र तथा नेपाली कांग्रेसलाई बलियो बनाउने अवधारणा अघि सारेको उल्लेख गरे ।

थापाले प्रदीप गिरिलाई प्रत्यक्ष भेट्नुअघि नै उनका लेख तथा रचनाहरू पढ्न थालेको स्मरण गर्दै उनलाई अध्ययनशील, सरल र सादगी व्यक्तित्वका रूपमा चित्रण गरे । नयाँ पुस्ताले सहज रूपमा पढ्न र बुझ्न सक्ने व्यक्तित्वका रूपमा गिरिलाई प्रस्तुत गर्दै उनले राजनीतिक दृष्टिकोण निर्माणका क्रममा उनका विचार बुझ्नु आवश्यक रहेको बताए ।

नेपालको विविधता र लोकतन्त्रलाई कसरी समावेशी तथा सार्थक बनाउने भन्ने विषयमा गिरिका विचार र प्रयास अहिले पनि उत्तिकै महत्त्वपूर्ण रहेको उनको भनाइ थियो ।

यसैबीच, प्रदीप गिरि इन्स्टिच्युटले स्वर्गीय गिरिको जन्मजयन्तीको अवसर पारेर फेलोसिपको पहिलो समूहका लागि सोमबारदेखि आवेदन खुला गरेको जानकारी दिएको छ । वीरगञ्जबाट कार्यक्रम सार्वजनिक गर्दै इन्स्टिच्युटले अनुसन्धान तथा लेखन, कानुनी सहायता र निबन्ध पुरस्कार गरी तीन विधामा आवेदन आह्वान गरेको हो ।

स्वर्गीय गिरिका आदर्श, मूल्यमान्यता, विचार र दर्शनलाई जीवन्त राख्दै नयाँ पुस्तासँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको इन्स्टिच्युटले जनाएको छ । कांग्रेस सभापति थापाले फेलोसिपको अनलाइन आवेदन फारम सार्वजनिक गर्दै औपचारिक रूपमा आवेदन खुला गरेका थिए ।

प्रदीप गिरि इन्स्टिच्युटका अध्यक्ष कञ्चन झाले युवाहरू आफ्नै गाउँठाउँका समस्या पहिचान गर्ने, समाधान खोज्ने र सार्वजनिक नीतिका विषयमा बहस गर्न इच्छुक भए पनि पर्याप्त अवसर नपाएको बताए । क्षमता भएर पनि अवसरबाट वञ्चित युवालाई लक्षित गरी फेलोसिप कार्यक्रम ल्याइएको उनको भनाइ थियो ।

नेपाली कांग्रेसको सहकार्यमा कार्यक्रम अघि बढाइएको जानकारी दिँदै झाले यसले स्वर्गीय प्रदीप गिरिका विचार र मूल्यमान्यतालाई समाजमा विस्तार गर्नुका साथै युवालाई सकारात्मक र रचनात्मक सार्वजनिक बहसमा जोड्ने विश्वास व्यक्त गरे ।

तीन विधामा फेलोसिप तथा पुरस्कार

फेलोसिपको पहिलो विधा ‘विचार : अनुसन्धान तथा लेखन फेलोसिप’ रहेको छ । यसमार्फत युवालाई अनुसन्धान र लेखनमा प्रोत्साहन गर्ने लक्ष्य राखिएको छ ।

दोस्रो विधा ‘कर्म : न्याय फेलोसिप’ अन्तर्गत चार जना सक्रिय कानुन व्यवसायीलाई एक वर्षका लागि न्याय फेलोका रूपमा छनोट गरिनेछ । उनीहरूले मधेस र संघीय राजधानीमा कानुनी सहायता डेस्क सञ्चालन गर्नेछन् ।

तेस्रो विधा ‘निष्ठापूर्ण असहमति : निबन्ध पुरस्कार’ रहेको छ । यो फेलोसिप नभई वार्षिक निबन्ध पुरस्कार हो । आफ्नै राजनीतिक दल, संस्था, आन्दोलन वा पेसाभित्रका कमजोरीमाथि आलोचनात्मक दृष्टिकोण राखेर लेखिएको उत्कृष्ट प्रकाशित निबन्धलाई पुरस्कार प्रदान गरिनेछ ।

फेलोसिपमा दलित, मधेसी, आदिवासी तथा जनजाति समुदाय, महिला र काठमाडौं उपत्यकाबाहिरका आवेदकलाई प्राथमिकता दिइने व्यवस्था गरिएको छ । विशेषगरी दुर्गम तथा सीमान्तकृत क्षेत्रका आवेदकलाई प्राथमिकतामा राखिने इन्स्टिच्युटले जनाएको छ ।

 

३० कार्तिक २०८३, सोमबार १७:५१ मा प्रकाशित
Nepsyscode
Follow us :
प्रकाशक :
कान्तिपुर प्रेस प्रा. लि.
सम्पादक :
रमेशप्रसाद घिमिरे
सूचना विभाग दर्ता नं. :
५०३०-२०८१/२०८२
विज्ञापनका लागि :
सम्पर्क : +९७७-९८५१०५२५७०