हेटौंडा, साउन १३ – नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतृत्व चयनका लागि निर्वाचन प्रक्रिया औपचारिक रूपमा सुरु भएको छ। मङ्गलबार बसेको कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले तीन सदस्यीय निर्वाचन समिति गठन गरेको हो।
नेपाली कांग्रेस बागमती प्रदेशका सह – महामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा गठन गरिएको समितिमा सहममन्त्रीद्वय जीवन डंगोल र ऋषिराम घिमिरे सदस्य रहेका छन्। समितिले छिट्टै बैठक बसी संसदीय दलको नेता चयनको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ।
बागमती प्रदेश कांग्रेसभित्रको नेतृत्व विवादको जड पूर्वसहमतिको उल्लंघन हो। स्रोतका अनुसार, गत वर्ष बहादुरसिंह लामा र इन्द्रबहादुर बानिया बीच एक–एक वर्ष मुख्यमन्त्री चलाउने सहमति भएको थियो। पहिलो वर्ष लामा, दोस्रो वर्ष बानिया भन्ने सहमति भए पनि लामा पक्षले सत्ता हस्तान्तरण नगरेपछि असन्तुष्टि चुलिएको हो।
सहमति नमानिएपछि इन्द्रबहादुर बानियाले संसदीय दलभित्र अविश्वास प्रस्ताव दर्ता गरेका थिए।उक्त प्रस्तावलाई मंगलबार बसेको संसदीय दलको बैठकले बहुमतले पारित गरेको हो।
पार्टीको आन्तरिक सनाखत प्रक्रियामा: इन्द्र बानियाको पक्षमा – २२ जना सांसद र बहादुरसिंह लामाको पक्षमा – १५ जना सांसदले सनाखत गरेका थिए । यसले बानिया पक्षको बहुमतको आधार पुष्टि गर्दै नेतृत्व परिवर्तनप्रति दलभित्र बलियो समर्थन रहेको संकेत दिएको छ।
नेपाली कांग्रेसका एक वरिष्ठ नेताले भने,“सहमतिको पालना नगरेपछि नेतृत्वमा असन्तोष हुनु स्वाभाविक हो। अब सबै कुरा संसदीय अभ्यासमार्फत टुंग्याउने तयारी हो।”
नेपाली कांग्रेस बागमती प्रदेशमा नेतृत्व परिवर्तनको प्रक्रिया औपचारिक रूपमा अघि बढिसकेको छ। निर्वाचन समितिको गठन, अविश्वास प्रस्ताव पारित हुनु, र बानिया पक्षमा बहुमत देखिनुका आधारमा अब संसदीय दलको नेतृत्व परिवर्तन निश्चित जस्तै देखिन्छ। आगामी निर्वाचनले कांग्रेसको आन्तरिक गुटीय सन्तुलनलाई पुनः परिभाषित गर्नेछ।











